प्रचण्ड र बाबुरामको बाटो अलग भएको बुवालाई मन परेको थिएन
बुवा (भक्तिप्रसाद पाण्डे)को अन्तिमसम्म पनि प्रचण्ड र बाबुराम एक्लाएक्लै हिँडेर क्रान्ति पूरा हुँदैन भन्ने थियो । रानीतिक क्रान्ति सफल भइसकेपछि आर्थिक क्रान्ति बाँकी थियो । त्यो आर्थिक क्रान्तिका लागि प्रचण्ड र बाबुरामको सहकार्य आवश्यक थियो ।
बाबुराम र प्रचण्ड मिलेर जाँदा आर्थिक क्रान्तिको काम चाँडो सकिने उहाँको निष्कर्ष थियो । जीवनको महत्वपूर्ण र धेरै समय बुवाले राजनीतिका लागि दिनु भयो । आर्थिक समृद्धि, नेपाली जनताको सुखका दिनकालागि बुवाले सशस्त्र संघर्षलाई सघाउनु भयो ।
उहाँले भन्नु पनि हुन्थ्यो, ‘हामी जीवनभर यसै गरी गरिब भइरहने हो भने त्यस्ता भयानक युद्ध किन गर्नु पर्थ्यो ? त्यो भयानक युद्धपछि नयाँ पुस्ताका लागि सुखका दिन शुरु हुन सकोस, परिवर्तनका थोपाहरु हाम्रै जीवनकालमा देखा पर्न सकून् भनेर युद्ध गरिएको हो । मान्छे मात्रै मार्ने र मर्ने खेल त जसले पनि गर्न सक्छ । यसकारण हाम्रो युद्ध निरर्थक थिएन भन्ने प्रमाणित गर्न पनि आर्थिक समृद्धिको बाटोमा जानु पर्ने हुन्छ ।’
पोहोर दशैंमा बुवा अचानक विरामी पर्नुभयो । परीक्षण गर्दा निको नहुने रोगले भेटिसकेको रहेछ । डाक्टरले बुवासँग तीन महिनाभन्दा बढी समय छैन भने । डाक्टरले जे भने ठीक त्यस्तो भएन । तीन महिनापछि बुवाको स्वास्थ्यमा केही सुधार आयो ।
बुवाको जीवनलाई पुस्तकमा सार्ने चाहना भयो । उहाँ बिरामी हुनुहुन्थ्यो तर पनि कुराकानी भयो । उहाँले भन्नुभएका कुराहरु रेकर्ड भए । बुवासँगको कुराकानी पाँच छ पटक भयो । तर त्यो रेकर्ड गर्न धेरै दिन लाग्यो ।
बुवाको जीवनका भोगाई, उहाँले देख्नु भएको सपना, राजनीति र यथार्थबारे धेरै विषय पुस्तक ‘चाचा’मा समेटिएको छ । चाचा बुवाको आत्मकथा हो । उहाँलाई धेरैले भक्तिप्रसाद पाण्डे भन्दा पनि चाचा भनेर चिन्नु हुन्थ्यो । त्यही भएर कितावको नाम पनि चाचा राखिएको हो । डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र परित्याग गरेको १५ महिनापछि पुष्पकमल दाहाल प्रचण्डसँग आज सोमबार सार्वजनिक समारोहमा सहभागी हुँदै हुनुहुन्छ । बाबुराम भट्टराईले पार्टी परित्याग गरिसकेपछि यी दुई नेता पहिलो पटक सार्वजनिक समारोहमा एक साथ देखा पर्दै हुनुहुन्छ । पुस्तक विमोचन बिहान दश बजेदेखि नेपाल पुलिस क्लबमा शुरु हुँदैछ । चाचाको विमोचनका लागि दुवै नेता एकै ठाउँ बस्दै हुनुहुन्छ । सीताराम बरालले लेख्नु भएको चाचालाई सांग्रीला बुक्सले प्रकाशन गरेको हो । यसको मूल्य २७५ रुपैयाँ छ ।
(माओवादी केन्द्रका नेता स्वर्गीय भक्तिप्रसाद पाण्डेका छोरा विश्वदीप पाण्डेसँग गरिएको कुराकानीमा आधारित)