News

भूकम्पपीडितका नाममा धमाधम सालका रुख काटिए

भूकम्पपीडितका नाममा धमाधम सालका रुख काटिए
पुस - १२ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र महादेवस्थान गाविसमा भूकम्पपीडितका नाममा धमाधम सालका रुख काटिएका छन् । जिल्लाका पाँचखाल क्षेत्र र महादेवस्थानको हिगुवापाटी आसपासमा मंगलबार प्रहरीले झन्डै ३०० क्युफिट अवैध सालको काठ फर्निचर कारखानाबाट बरामद गरेपछि काठ काटिएको खुल्न आएको हो । ती काठको मूल्य प्रतिक्यफिट रु पाँच सय पर्छ । भूकम्पपीडितका नाममा काटिएका अवैध काठसहित पाँचखाल -३ स्थित उमादेवी फर्निचर उद्योगका सञ्चालक तेजप्रसाद न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीपञ्चकन्या फर्निचर समिलका सञ्चालक रमेश क्षेत्री र अर्को फर्निचर उद्योगका सञ्चालक भने फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले लामो समयदेखि नै भूकम्पपीडितका नाममा फर्निचर उद्योगले व्यवसाय गरेको आशङ्का गर्दै बरामद भएको अवैध काठ वन कार्यालयलाई बुझाइने बताए । जिल्ला वन कार्यालय, धुलिखेलका वन अधिकृत प्रेम खनालले टाँचा नलगाइएका कारण प्रतिबन्धित सालको काठ अवैध भएको उल्लेख गर्दै काठ कटानमा इजाजत नलिइएको पनि बताए । “यो भूकम्पपीडितको नाममा बेथिति हो”, उनले भने । वन अधिकृत खनालले जिल्लाका अन्य स्थानमा पनि यस्तो क्रियाकलाप भएको हुन सक्ने जनाउँदै अब यसको गहन अध्ययन थालिने बताए । बोक्सेफेदी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायणप्रसाद तिवारीले उपभोक्ता समितिको निर्णयानुसार भूकम्पपीडितलाई पाँच थान काठ काट्न स्वीकृति दिक्ष्एको उल्लेख गर्दै काठ काट्ने विषयमा इजाजत लिनेबारे आफूलाई जानकारी नभएको जिकिर गरे । सो क्षेत्रमा केही उपभोक्ताले भूकम्पपीडितको घर निर्माणका लागि आफ्नै वनको काठ काटेर कारखानामा चिराउनका लागि ल्याइएको जिकिर गरेका छन् । यस विषयमा सम्बन्धित निकायलाई भने कुनै जानकारी छैन ।

काभ्रेपलाञ्चोक भूकम्पपीडित

विशेष