सामुदायिक कार्यक्रमको समयावधि थप गर्न माग
पुस–१३ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले हाल जिल्लामा सञ्चालनमा रहेको सामुदायिक स्वास्थ्य, खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रमको समयावधि थप गर्नुपर्ने बताएका छन् ।
स्वास्थ्य प्रबद्र्धनका लागि सामुदायिक सशक्तीकरण नेपालगन्ज बाँके र स्वीस रेडक्रसको आर्थिक सहयोगमा २०१५ देखि २०१७ सम्म रोल्पा जिल्लाका तीन गाविस फगाम, जैमाकसला र मिझिङमा सञ्चालित कार्यक्रमको समयावधि थप गर्नुपर्ने उनले बताएका हुन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा सम्पन्न सामुदायिक स्वास्थ्य खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रमको २०१६ को वार्षिक समीक्षा गोष्ठीका अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रजिअ शर्माले सो कुरा बताएका हुन् ।
यसैबीच उनले कार्यक्रमलाई गाविसमा अझ प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सरोकारवाला निकायकाबीच वृहत छलफल तथा समन्वय हुनुपर्नेमा जोड दिए ।
स्थानीय विकास अधिकारी सुशील वैद्यले हाल जिल्लाका तीन गाविसमा मात्र सञ्चालित यो कार्यक्रम सबै गाविस र नगरपालिकामा समेत सञ्चालन हुनसके अझ प्रभावकारी हुने बताए ।
गोष्ठीका क्रममा जिल्लामा वर्षभरि भएका विभिन्न गतिविधिको बारेमा कार्यक्रमका जिल्ला संयोजक बुद्धिराम गोसाइँले जानकारी गराएका थिए । उनका अनुसार यस कार्यक्रममार्फत तीन गाविसमा खानेपानी योजना सम्पन्न भइसकेका छन् भने छवटा खानेपानी योजना निर्माणाधीन छन् ।
यसैगरी तीन गाविसका पाँचवटा विद्यालयमा निर्माणकार्य थालिएका दुईवटा शौचालयको निर्माण कार्य सम्पन्न भएको र तीनवटा शौचालय निर्माणाधीन अवस्थामा छन् ।
तीन गाविसमा कार्यक्रम सञ्चालनका लागि २०१६ मा कुल एक करोड ३१ लाख बजेट विनियोजन भएकोमा हालसम्म ८७ लाख रुपैयाँ खर्च भएको र बाँकी निर्माणाधीन योजना २०१७ सम्म सम्पन्न गरिसक्ने लक्ष्य लिइएको कार्यक्रम संयोजक गोसाइँले बताए । रासस
स्वास्थ्य प्रबद्र्धन