विदेश

नयाँ वर्ष सुरु हुनुभन्दा अगाडि नै युद्धविराम हुने

नयाँ वर्ष सुरु हुनुभन्दा अगाडि नै युद्धविराम हुने
पुस–१४ । टर्की र रुसको सहमतिमा सिरियाका सबै क्षेत्रमा लागू हुने भनिएको युद्धविराम नयाँ वर्ष सुरु हुनुभन्दा अगाडि नै लागू गरिने योजना भइरहेको टर्कीका विदेशमन्त्री मेभ्लुट क्याभुसोग्लुले बुधबार बताएका छन् । सिरियाको सबै क्षेत्रमा युद्धविराम लागू हुने टर्की र रुसको सहमति भएको एक दिनपछाडि टर्कीको एक सञ्चारमाध्यम विदेश मन्त्री क्याभुसोग्लुले कुनै पनि बेलामा यो युद्धविराम लागू हुनसक्ने बताएका छन् । युद्धविराम नयाँ वर्ष सुरु हुनुभन्दा अगाडि नै हुने मन्त्री क्याभुुोग्लुले बताए । यस युद्धविराम योजना मुख्यतया सिरियाको अलेप्पो नगरमा जारी युद्धविरामलाई निरन्तरता दिने प्रयोजनवश ल्याइएको बताइएको छ । अलेप्पोलगायत सिरियाका अन्य युद्धग्रस्त इलाकाबाट सर्वसाधारणलाई सुरक्षित उद्धार गर्नका लागि यसै महिनाको सुरुमा नै टर्की र रुसको मध्यस्थतामा युद्धविराम गरिएको थियो । तर, रुस र अमेरिकाको मध्यस्थतामा भएका, यस अघिका युद्धविराममा अवलम्बन गरिए जस्तै, अहिले पनि आतङ्ककारी विरुद्ध प्रतिकार गर्नेकार्य भने रोकिने छैन । यदि यस योजना सफल भएमा, रुस र टर्कीकै पहलमा काजकिस्तानको राजधानी आस्तानामा निकट भविष्यमै हुनगइरहेको सिरियाली सरकार र विपक्षीबीच राजनीतिक सम्झौता हुने बलियो आधारसमेत निर्माण हुने अड्कल गरिएको छ । सिरियामा जारी गृहयुद्धको कुरा गर्ने हो भने रुस र टर्की विपरीत पक्षधर हुन् । वर्तमान सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउनुुपर्छ भन्ने पक्षमा टर्की रहेको छ, भने रुस र इरान असदका प्रमुख अन्तर्राष्ट्रिय सहयोगीका रूपमा खडा रहेका छन् । तर, गतवर्ष रुसको एउटा युद्धक विमान टर्कीका सेनाले खसाली दिएपछि दुई देशबीच बिग्रन गएको सम्बन्धलाई सुधार गर्न टर्की प्रयासरत छ भने रुसले पनि यसलाई सामान्यीकरण गर्न चासो देखाएको छ । यसकै प्रतिफलस्वरूप दुई देशबीच गत ग्रष्म ऋतुतिर सम्पन्न भएको एक समझदारीलाई मान्यता दिँदै रुसले सिरियाली युद्धविराम योजनामा लचकता अपनाएको बताइएको छ । सिरियामा सन् २०११ को मार्च महिनामा सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछाडी गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टे्ट पनि दबदबा बढ्दै गयो । जारी यसद्वन्द्वमा परी सन् २०११ देखि हालसम्म तीन लाख १२ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखाैँ व्यक्ति घाइते भएका छन् भने, लाखाैँ आफ्ना देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन बिताइरहेका छन् । रासस-एएफपी

टर्की र रुस युद्धविराम सिरिया

विशेष