News

शिक्षा सबै वर्ग र समुदायका लागि सर्वसुलभ हुनुपर्छः प्रम

शिक्षा सबै वर्ग र समुदायका लागि सर्वसुलभ हुनुपर्छः प्रम
पुस - १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षाका माध्यमद्वारा सक्षम जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् । ललितपुरमा आज भएको त्रिविको ४२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गदै उनले त्रिविबाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न त्रिविको चुनौती भएको उल्लेख गरे । “शिक्षित विद्यार्थी लेखपढ गर्न कार्यमा निपुण हुनाका साथै सीप र प्रविधियुक्तसमेत हुनुपर्छ”, उनले भने, “त्यसका लागि त्रिविले व्यावसायिक विषय र प्रविधियुक्त शिक्षामा वृद्धि गर्नुपर्छ । ” त्रिविका कुलपति प्रधानमन्त्री दाहालले आर्थिक हैसियत भएकाहरुको मात्र नभई सबै वर्ग र समुदायका लागि शिक्षा सर्वसुलभ तथा रोजगारीमूलक हुनुपर्ने पनि औँल्याए । उनले विद्यार्थीले सिकेका ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न राज्यले सबैलाई शिक्षा प्राप्तिको आवश्यक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षामन्त्री तथा त्रिविका सहकुलपति धनीराम पौडेलले देशको ८० प्रतिशतभन्दा बढी विद्यार्थी उत्पादन गर्ने त्रिविलाई परिवर्तित मागअनुसार उत्कृष्ट केन्द्रका रुपमा विकास गरिनुपर्ने बताए। वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले शिक्षामा सबैको हक भए पनि केही वर्ग र समुदायमा पुग्न नसकेकामा चिन्ता व्यक्त गर्दै त्रिविले पश्चिमी मुलुकबाट विज्ञान र प्रविधि सिकी विद्यार्थीलाई रोगजारमुखी शिक्षा दिलाउनुपर्ने बताए । उनले भने –“दक्ष जनशक्ति बिदेसिनाले शिक्षामा राज्य र व्यक्तिले गरेको लगानी खेर गएको छ, त्रिविले त्यस्ता विद्यार्थीलाई स्वदेशमा फर्कने वातावरण बनाउनुपर्छ । ” समारोहमा त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले त्रिविबाट प्रदत्त शिक्षालाई अन्तर्राष्ट्रिय स्वरुप र मापदण्डअनुरुप बनाउन आफूहरु लागिपरेको जानकारी गराउनुभयो ।
दश हजार दीक्षित समारोहमा नौ हजार ७३४ विद्यार्थी दीक्षित भएका छन् । कार्यक्रममा ६८ जना विभिन्न सङ्कायबाट विद्यावारिधि गर्ने विद्यार्थीलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी विभिन्न सङ्कायका सर्वोकृष्ट अङ्क ल्याउने ३७ जनालाई पदक र पुरस्कार पनि प्रदान गरिएको थियो । रासस

त्रिभुवन विश्वविद्यालय पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष