काठमाडौंमा जाडो छैन, तापक्रम पोहोर भन्दा ४ डिग्री सेल्सियसले बढी
पुस १५ । यदि यो जलवायु परिवर्तनको असर हो भने मानवजातिका लागि यो दूर्भाग्यपूर्ण नै हो । यो समय सबैभन्दा बढी चिसो हुनु पर्ने बेला हो । पोहोर यहि बेला काठमाडौंको तापक्रम न्युनतम शुन्य डिग्री सेल्सियसमा झरेको थियो । अहिले न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस छ ।
मौसम तथा विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठ भन्छन्, ‘अन्य वर्षको तुलनामा यो वर्ष ज्यादै तातो भयो । ठीक एक वर्ष अघि काठमाडौंको तापक्रम न्यूनतम शुन्यमा थियो ।’ उनले दुई वर्ष अघि पनि यो बेला काठमाडौंको तापक्रम न्यूनतम १ डिग्री सेल्सियस रहेको जानकारी दिए ।
एउटै समयमा अन्य वर्षको तुलनामा धेरै न्यानो हुनु भनेको मौसममा फेरबदल आउनु हो । मौसमविद् श्रेष्ठ अहिलेको तातोपनलाई विश्वव्यापी उष्णता मात्रै मान्दैनन् । उनी भन्छन्, ‘यो मौसममा फेरबदल मात्रै हो । पानी परेको छैन, हावा ज्यादै प्रदुषित छ । यसकारण तापक्रम नघटेको हो । समय अझै पनि छ, घटन सक्छ ।
यसपटक काठमाडौमा मात्रै होइन मुुलुकभर जाडो कम छ । अन्य वर्षसँग तुलना गर्ने हो भने देशभर नै चिसो कम छ । एक पटक वर्षात हुने हो भने तापक्रम घट्ने छ ।
अन्य वर्ष यो बेलासम्म वर्षात भइसक्थ्यो । यो पटक कतै पनि पानी परेको छैन । पानी परेपछि मौसममा परिवर्तन निश्चित हुन्छ ।
एसिसियूवेदर डट कमको पूर्वानुमानअनुशार १५ जनवरीमा काठमाडौमा वर्षात हुनेछ । यसबीच ७ दिन जति मौसम बदली रहनेछ ।
यो वर्ष कुहिरो र हुस्सु पनि लागेको छैन । अन्यवर्षहरुमा बिहान उठ्दा बाक्लो कुहिरा लागेको हुन्थ्योे, अहिले झलमल्ल घाम लागेको हुन्छ । हुस्सु नलाग्नु कारण पानी नपरेर हो । हुस्सु नलाग्दा पानी नपर्दाजस्तै वातावरणमा धेरै असर पर्न सक्छ ।
यसरी जाडो मौसममा जाडो नहुनु, पानी नपर्नु, हुस्सु नलाग्नु वातावरणको लागि पक्कै राम्रो लक्षण हैन । यसरी नै हाम्रो वातावरण दिनानुदिन विग्रदै गएको छ । यसले समग्र पर्यावरणमा असर परेको छ ।
–सागर बुढाथोकी