News

राष्ट्रिय एकताले सबै जनजातिका पहिचान र अधिकारलाई बलियो पार्न सक्छ: प्रम दाहाल

राष्ट्रिय एकताले सबै जनजातिका पहिचान र अधिकारलाई बलियो पार्न सक्छ: प्रम दाहाल
पुस - १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई सबै क्षेत्र र वर्गको सर्वस्वीकार्यता बनाउनुपर्ने बताएका छन् । तमू ल्होछार, २०७३ को उपलक्ष्यमा शुक्रबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले निर्दिष्ट गरेका निर्वाचन निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले प्राथमिता दिएको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने “वर्तमान सरकारको सम्पूर्ण ध्यान संविधानलाई सर्वस्वीकार्यता र अपनत्व गराउँदै निर्वाचन सम्पन्न गर्नमा नै केन्द्रित छ, यस कार्यमा सहयोग र साथ दिन म आम जनसमुदायलाई अपिल गर्दछु ।” राष्ट्रिय एकताले मात्र सबै जनजातिका पहिचान र अधिकारलाई बलियो पार्न सकिने बताउँदै उनले भने – जातले भन्दा विचारले उत्पीडित जनताको अधिकार स्थापित गर्न सकिन्छ । प्रधानमन्त्री दाहालले आफूले उत्पीडित वर्गका पहिचान र अधिकार स्थापित नभएसम्म राजनीतिक लडाइँ लडिरहने बताउँदै गणतन्त्र स्थापना भएपछि मधेसी समुदायबाट राष्ट्रको सर्वाेच्च पद राष्ट्रपति र उपराष्ट्रपतिमा पुग्न सफल भएको, अहिले राष्ट्रको सर्वाेच्च पदमा महिला, सभामुख पदमा जनजाति महिला, प्रधानन्यायाधीश महिलाले नेतृत्व प्रदान गरिरहनुभएको छ, यो नै समावेशीको उत्कृष्ट उदाहरण रहेकेा उल्लेख गरे । “अब गुरुङ समुदायबाट पनि राष्ट्रपति र प्रधानमन्त्री पद प्राप्त गर्ने दिन टाढा छैन,” उनले भने– “गुरुङ जातिको पर्व तमू ल्होछार मनाउन सरकारबाट दिँदै आएको रकम दोब्बर पारिने छ ।” कार्यक्रममा गुरुङ सुमदायबाट विद्यावारिधि प्राप्त गर्ने र सो समुदायको उत्थानमा काम गर्नेलाई सम्मानसमेत प्रदान गरिएको थियो । सोही अवसरमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्किने वेशभूषा, नाचगान प्रदर्शनी गरिनुका साथै खाना महोत्सवसमेत आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ, माओवादी केन्द्रका नेता देव गुरुङ, सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय एकताले नै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे ।

तमू ल्होछार पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष