सरकारी जीप जलाउन उत्तेजित पार्ने सरकार नै हो
–राजीव पहारी, अध्यक्ष युवा संघ नेपाल शुक्रबार काठमाडौंमा सरकारी जीप आगो लगाउनेमा एमालेका युवाहरुको संलग्नता थियो भन्ने जुन खबर बाहिर आएको छ यसबारे मैले राम्रोसँग बुझ्न पाएको छैन । युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि सांघातिक हमलापछि म बुटवलबाट नेपालगञ्ज आएको छु ।
मैले काठमाडौंको घटनाबारे पर्याप्त जानकारी पाइसकेको छैन । अपूर्ण सूचनाका आधारमा म के भन्छु भने सरकारी जीप जलाउने कुनै कार्यक्रम थिएन । तर विषयलाई उत्तेजित पार्न, शान्तिपूर्ण आन्दोलनलाई बिथोल्न सरकारी पक्षले हाम्रा साथीहरुलाई कार्यक्रम अगाडि नै भिडन्तको स्थिति सिर्जना गरिदियो । शान्तिपूर्ण आन्दोलनलाई सरकारी पक्षले नै उत्तेजित पार्दा सरकारी गाडीमा आगो लाग्यो । फेरि पनि भन्छु, यो विषयमा मैले पूर्ण सूचना पाइसकेको छैन । काठमाडौं आएपछि सबै कुरा बुझेपछि आधिकारिक धारणा राख्नेछु ।
जहाँसम्म नेपालगञ्जका युवा संघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको प्रश्न छ, उहाँ निरन्तर पाँच नम्बर प्रदेृशलाई टुक्रा पार्न हुन्न भन्ने आन्दोलनमा सक्रिय रुपले लागि पर्नु भएको योद्धा हो । राज्य संयन्त्र र आपराधिक जत्थाले राष्ट्रको पक्षमा, राष्ट्रियताको पक्षमा खबरदारी गर्नेलाई एक एक गरी निशाना साँधिरहेको छ । त्यसैको एक श्रृङखला सन्तोष बुढाथोकीमाथिको आक्रमण पनि हो भन्ने हाम्रो ठहर छ । बुढाथोकीका विषयमा उठेका विषयहरु (सन्तोष बुढाथोकी हत्याका आरोपी र यार्शाका कारोबारी हुन् भन्ने विषय बाहिर आएको छ ।) हाम्रो आन्दोलनलाई डाइभर्ट गर्नका लागि ल्याइएका हुन् । जसमा कुनै पनि सत्यता छैन ।
एमालेले संविधान सभाको निर्वाचनमा बन्द हड्ताल नगर्ने प्रतिबद्धता घोषणापत्रमार्फत जाहेर गरेको थियो । त्यो घोषणापत्रको प्रतिबद्धतालाई हामीले अक्षरशः पालना गरेका छौं । रुपन्देहीमा दुर्गा तिवारीको हत्या भयो, हामीले जम्मा एक दिन लुम्बिनी अञ्चल बन्दको आह्वान गर्यौं । चाहेको भए नेपाल बन्द नै गर्न सक्थ्यौं । नेपालगञ्जमा सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ । हामीले नेपाल बन्द आह्वान गरेका छैनौं । भारतको इशारामा राष्ट्रघाती सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको छ, तर हामीले संघर्षका अन्य विकल्प रोजेका छौं नेपाल बन्द गरेका छैनौं ।
नेपाललाई सिक्किमीकरणको दिशामा लैजान वर्तमान सरकारले जे जस्ता हर्कत गरिरहेको छ त्यो हर्कतलाई युवासंघले कडा प्रतिकार गरिरहेको छ । राष्ट्रको पक्षमा आन्दोलन गर्दा यहाँ राष्ट्रघातीहरु तिल्मिलाउँछन् । नेपालमा संविधान संशोधनको प्रस्ताव दर्ता हुँदा जनता सडकमा पुग्छन्, छिमेकीले खुसी भएर विज्ञप्ति जारी गर्छ । छिमेकीसँगै सरकारमा बसेका कठपुतलीहरु खुसी हुन्छन् । सारा जनतालाई रुवाएर छिमेकी खुसी पारिन्छ । विदेशी भूमिमा बस्ने, बिदेशीकै भात खाने, विदेशीभूमिबाटै नेपालमा ढुंगा हान्ने आज राष्ट्रवादी भएका छन् । यस्ता दलालहरुविरुद्धको आन्दोलन युवा संघले छेडेको हो । यस्तो आन्दोलनमा हुने समान्य त्रुटिका कुरालाई उचाल्नेहरुलाई हामी कठैबरा मात्रै भन्न सक्छौं । (अध्यक्ष पहारीसँग गरिएको कुराकानीमा आधारित)