भारतीय दूतावासले टेरेन परराष्ट्र मन्त्रालयको परिपत्र
०६५ मा कोसी कटानको समयमा तत्काल उद्योग व्यापारमा सहजीकरण गरी आवश्यक सुविधा पुर्याउन पूर्वका उद्योगी–व्यापारीको आग्रहमा विराटनगरमा भारतीय दूतावासको फिल्ड कार्यालय स्थापना गरिएको थियो । तर, त्यो प्रयोजन सकिएपछि पनि भारतले सो कार्यालय हटाउन मानेको छैन ।
फिल्ड कार्यालय हटाउन नेपाल सरकारले पाँच वर्षअघि नै दूतावासलाई परिपत्र गरेको थियो । परराष्ट्र मन्त्रालयले गरेको परिपत्रलाई बेवास्ता गर्दै भारतले नियमविपरीत निर्वाध रूपमा फिल्ड कार्यालय सञ्चालन गरिरहेको छ । भारतसँग कारोबार गर्ने उद्योगी–व्यापारीहरू र केही राजनीतिक कार्यकर्तादेखि नेपाल–भारत मैत्री संघमा आबद्ध युवाहरूले फिल्ड कार्यालय हटाए जनताको सुविधा खोसिने भएकाले नहटाउन दबाब दिँदै आएका छन् ।
परराष्ट्रले दुईपटक पत्र लेख्यो, तर दूतावासले टेरेन
परराष्ट्र मन्त्रालयले प्रयोजन सकिएको भन्दै कार्यालय हटाउन दुईपटक भारतीय दूतावासलाई परिपत्र गरेको थियो । तर, भारतीय दूतावासले सरकारको परिपत्रलाई बेवास्ता गर्दै फिल्ड कार्यालय हटाउन मानेको छैन ।
यसरी स्थापना भएको थियो फिल्ड कार्यालय
०६५ मा कोसीमा आएको भेलले बस्ती र सडक कटान गरेपछि पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो । तत्काल उद्योग व्यपारमा सहजीकरण गरी आवश्यक सुविधा पुर्याउन पूर्वका उद्योगी–व्यापारीको आग्रहमा विराटनगरमा भारतीय दूतावासको फिल्ड कार्यालय स्थापना गरिएको थियो ।
सन् २००८ मा विराटनगरको बरगाछीमा स्थापना भएको सो फिल्ड कार्यालय नेपाल सरकारले सन् २०११ मै हटाउन भनेको थियो । उद्देश्य पूरा भएको भन्दै परराष्ट्र मन्त्रालयले तीन वर्ष पहिले नै फिल्ड कार्यालय हटाउन भारतीय दूतावासलाई पत्र लेखेको थियो । तर, दूतावासले पहिलो पत्रको सुनुवाइ नगरेपछि परराष्ट्र मन्त्रालयले दूतावासलाई दोस्रोपटक पत्र लेखेको थियो । तैपनि दूतावासले चासो दिएन । बरु अझ सुविधासम्पन्न ठाउामा सारेर सञ्चालन गरेको छ ।
फिल्ड कार्यालय हटाए आन्दोलन गर्ने धम्की
२२ फागुन ०६९ मा विराटनगरमा कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य महेन्द्र यादवले खुलेरै भारतीय दूतावासको विराटनगरस्थित फिल्ड कार्यालय हटाउन नहुने बताएका थिए । ‘सरकारले फिल्ड कार्यालय हटायो भने पूर्वी क्षेत्रका नेपालीमाथि अन्याय गरेको ठहर्छ,’ उनले पत्रकार सम्मेलनमा भनेका थिए । नेपाल–भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्ष बताउने यादवको आफूहरूले फिल्ड कार्यालय हटाउन हुँदैन भनेर जनताको पक्षमा आवाज उठाएको दाबी थियो । उनले फिल्ड कार्यालय हटाएमा नेपालका २५ भन्दा बढी जिल्लामा विस्तार भएको नेपाल–भारत मैत्री संघलाई आन्दोलनमा उतार्ने चेतावनी पनि दिएका थिए ।
फिल्ड कार्यालयलाई व्यापारीको पनि संरक्षण
मोरङ व्यापार संघले फिल्ड कार्यालय हटाउन नहुने बरु प्रक्रिया पुर्याएर स्थायी रूपमा राखिनुपर्ने माग गर्दै आएको छ । संघका तत्कालीन अध्यक्ष तथा वर्तमान सल्लाहकार अविनाश बोहरा भारतीय फिल्ड कार्यालय हटाउन नहुने पक्षमा छन् । फिल्ड कार्यालयलाई वाणिज्य दूतावासमा परिणत गरेर नेपाल सरकारको कानुनअनुसार राख्नुपर्ने उनको सुझाब छ । फिल्ड कार्यालयकै कारण पूर्वका उद्योगी–व्यापारी स–साना काम गराउन काठमाडौं धाउनुपर्ने झन्झटबाट मुक्त हुनुपरेको बोहराको भनाइ छ ।
स्वतन्त्र विराटनगर नागरिक समाजका तत्कालीन अध्यक्ष तथा बुद्धिजीवी दुर्गा सुवेदी कुनै देशका कार्यालय अर्काको देशमा बस्दा द्विपक्षीय सम्झौताको आधारमा बस्नुपर्ने बताउँछन् । सरकारले फिल्ड कार्यालय हटाउन परिपत्र गरेको हो भने दूतावासले अविलम्ब हटाउनुपर्ने उनको भनाइ छ ।
भारतको मात्र झन्डा फहराउँछ फिल्ड कार्यालयमा
विराटनगर–१७ स्थित मलाया रोडमा रहेको दूतावासको फिल्ड कार्यालयमा भारतको मात्र झन्डा फहराउँछ । अनुमतिबेगर झन्डा राखेर कार्यालय सञ्चालन गर्नु कूटनीतिक सम्बन्धविपरीत हुने परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ ।
के काम गर्दै छ फिल्ड कार्यालय ?
कोसी कटानको वेला फिल्ड कार्यालय स्थापना गरिए पनि हाल सो समस्या समाधान भइसकेको छ । फिल्ड कार्यालयले के–के काम गर्छ र कति कर्मचारी छन् भन्ने विषयमा कुनै जानकारी गराइएको छैन । पत्रकारलाई समेत कुनै पनि सूचना दिन नमिल्ने भनिँदै आएको छ । फिल्ड कार्यालयको काम र अवस्थाबारे जान्न खोज्दा सम्पर्कमा आएका एक उच्च कर्मचारीले कुरा गर्ने फुर्सद नभएको भन्दै जे सूचना चाहिएको हो, आफ्नै देशको परराष्ट्र मन्त्रालयबाट लिन आग्रह गरे ।
(नयाँ पत्रिका बाट)