बालुवाटारमा प्रदर्शनकारी र प्रहरीबिच झडप केहि अान्दाेलनकारी घाइते
नेत्र पाैडेल
काठमाडाैँ, ४,जेठ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका सङ्घीय गठबन्धनका नेता कार्यकर्ता निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको छ।
संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत २९ दलीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन अन्तर्गत दुई दिन सिंहदरबार आसपासपछि मंगलबार बालुवाटार घेराउ गर्ने प्रयास गरेको हो ।
आन्दोलनकारीले अन्य दिनको तुलनामा सुरक्षाकर्मी बढी आक्रामक भई धर्नामा बसेकाहरुमाथि बल प्रयोग गरेको बताएका छन्। प्रहरीसँगको झडपमा परी रञ्जित गोसामी , विष्णु जंग बस्नेत, रमेश राई, दयाराम राई, यक्ष कुमार राई, विष्णु जम्मरकटेल, प्रकाश राई, मञ्जु अन्सारी, पूर्ण बहादुर बस्नेत, पृथ्वी कार्की, महेस प्रसाद यादव र मन कुमार लिम्बु घाईते भएकाे जनाइएकाे छ।
घाइते मध्य रञ्जित गोस्वामीको दायाँ हात काँधबाट खुस्केकोले ट्रमा सेण्टरमा उपचार भैरहेको छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएकाे छ ।
प्रहरीले भने प्रदर्शनकारीले निषेधित क्षेत्र तोडी अघि बढ्न खोज्दा तिनलाई पछि धकेलिएको र सो क्रममा एक प्रहरी सामान्य घाइते भएको बताएको छ। आज तेस्रो दिन आन्दोलनकारी बालुवाटार स्थित प्रधानमन्त्री कार्यालय घेराउ गर्न पुगेका छन् ।
दुई दिनसम्म सिंहदरबार घेराउ गर्दा पनि सरकारबाट मागबारे कुनै सुनुवाई नभएपछि गठबन्धनले आज बालुवाटार घेराउ गर्ने निर्णय गरेको थियो ।यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटार आसपासका महत्वपूर्ण स्थानमा निषेधित क्षेत्र तोकेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कशपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटोको १०० मि सम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मि सम्म निषेधित क्षेत्र तोकिएको छ ।