लौ एकता घोषणा नहुँदै कमरेडहरुबीच मारामार शुरु
काठमाडौं, ५ जेठ वृद्व अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सिपी गजुरेललाई छाडेर एमाओवादीसँग मिल्न आएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका बरिष्ठ कमरेडहरूबीच मारामार परेपछि ६ जेठमा हुने भनिएको पार्टी एकीकरण अलिनो हुने भएको छ ।
वैद्य र सिपीलाई छाडेर एमाओवादीसँग एकीकरण गर्न भन्दासम्म खुबै मिलेका देखिएका रामबहादुर थापा ‘बादल’ र देव गुरुङबीच एकता अघि नै उफ्राउफ्री परेको हो ।
एकतामा पदाधिकारीसहित जिम्मेवारी पनि टुंग्याएर जान आइतबार साँझ कार्यदलको बैठक बोलाइएको थियो । बैठकमा कार्यदलका सदस्य कृष्णबहादुर महरा, वर्षमान पुन, बादल, देव गुरुङ, कुलबहादुर केसी, मणि थापाहरु सहभागि थिए । छलफल अघि बढाउँदै महराले पार्टी एकीकरण प्रक्रियालाई सहज बनाउन आफू उपाध्यक्ष बस्न तयार रहेको बताए ।
त्यसैगरी, एकीकृत पार्टीको महासचिव दाबी गर्दै आएका बादलले पनि महरालाई समर्थन गर्दै आफूलाई पनि उपाध्यक्षमा रहन कुनै असहज नहुने प्रस्ताव राखे । बादलले नै महासचिव र सचिवबारे प्रस्ताव गर्ने तयारीअनुरुप पृष्ठभूमि बाँधेर महिला पनि भएकाले पम्फा भुषाललाई महासचिवको जिम्मेवारी दिनुपर्ने बताए ।
यतिन्जेल चुप लागेर कुरा सुनिरहेको देव गुरुङ बादलले राखेको महासचिवको प्रस्ताव सुन्नासाथ बुरुक्क उफ्रँदै कराए ‘यसरी कहाँ हुन्छ ? हामी चाहिँ के गरेर बस्ने ? छलफल नै नगरी जे मन लाग्यो त्यही प्रस्ताव गर्दै जाने ?’ त्यसपछि अन्य सहभागिले पनि देव गुरुङको प्रस्तुतीलाई समर्थन पुग्ने गरी आफ्ना कुरा राखेका थिए ।