प्रतिकूल मौसमले सगरमाथाको आरोहण भएन
काठमाडौँ, ५, जेठ प्रतिकूल मौसम भएपछि दुई दिनदेखि सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न हिँडेका आरोही रोकिएका छन् ।मौसममा उतारचढाव आएपछि आरोहीले चुचुरो चुम्नलाई नसकिरहेका पर्यटन विभागले जनाएको छ ।
सगरमाथाको चुचुरो नजिक हावा चलेका कारण मङ्गलबार र बुधबार कुनै आरोहण नभएको आधार शिविरमा रहनुभएका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार धेरै आरोही क्याम्प दुई, तीन र चारमा छन् । उनीहरु बिहीबार, शुक्रबार र शनिबार चुचुरोमा पुग्नेछन् । केही आरोही भने अहिले आधार शिविरमै रहेका छन् । उनीहरु पनि उँभोतिर लाग्ने तयारीमा रहेको श्रेष्ठले बताउनुभयो ।
वसन्त ऋतुको यो मौसममा गत वैशाख २९ गते बुधबारदेखि सुरु भएको सगरमाथा आरोहण निरन्तर छ दिनसम्म अर्थात् जेठ ३ गतेसम्म चलेको थियो ।सगरमाथा आरोहणको छ दिनको अवधिमा ८८ जना स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।
विभागको अनुमानअनुसार आज ५८ नेपाली र ४१ विदेशी गरी ९९ आरोही चुचुरोमा पुग्ने योजनामा थिए । तर आज कुनै आरोहण भएन ।त्यसैगरी बिहीबार ११० नेपाली ८७ विदेशी, शुक्रबार ७० नेपाली र ५६ विदेशी तथा शनिबार २१ नेपाली र २१ विदेशी गरी जम्मा ४६४ आरोही सगरमाथाको चुचुरोमा पुग्ने अनुमान गरिएको थियो ।
प्राकृतिक विपत्तिका कारण सन् २०१४ र २०१५ मा सगरमाथा र अन्य हिमालको आरोहण रोकिएको थियो । सन् २०१६ को वसन्त ऋतुमा सगरमाथाको सफल आरोहणले विश्वको ध्यान केन्द्रित गरिरहेको छ ।
पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणका लागि गएका छन् ।तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन् । रासस