News

चिनियाँ रेलमा आएको सामान केरुङ आइपुग्यो

चिनियाँ रेलमा आएको सामान केरुङ आइपुग्यो
China Rail to Nepal काठमाडौं, ६ जेठ चीनको गान्सु प्रान्तको लान्चोउबाट नेपालका लागि सामान बोकेर छुटेको रेल सिगात्से आइपुगेको छ । त्यहाँबाट चिनियाँ ट्रक–कन्टेनरमा सामान केरुङतर्फ ओसार्न थालिएको छ । हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतमले भने, ‘नेपाली सामान बोकेको रेल सिगात्से आइपुगेको छ । अहिले धमाधम सामान झार्ने काम भइरहेको छ ।’ सात दिनमै आइपुग्यो लान्चोउबाट गत बुधबार छुटेको रेलका ४३ डिब्बामा ८६ कार्गो कन्टेनर छन् । दुई हजार चार सय ३१ किलोमिटर दूरी पार गरेर रेल सिगात्से आइपुगेको हो । सिगात्से आइपुग्न करिब १० दिन लाग्ने अनुमान थियो, तर मंगलबार नै सिगात्से पुगेको थियो । केरुङमा छुट्टै यार्ड रेलबाट आएको नेपाली सामान राख्न चिनियाँ पक्षले केरुङको गिलोङ पोर्टमा छुट्टै यार्ड बनाएको छ । बुधबार केरुङ गएर फर्केका रसुवा भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरूले चारैतिरबाट घेरेर नेपाली सामान राख्न छुट्टै यार्ड राखिएको बताए । उनले भने, ‘त्यो यार्डमा एकपटकमा तीन सय कन्टेनर राख्न सकिने देखिन्छ ।’ १० कन्टेनरमा लोड भए सामान केरुङको गिलोङ पोर्टमा पुगेको सामानमध्ये नेपालका १० कन्टेनरमा लोड भएका छन् । ‘ती सामान चिनियाँ भन्सार जाँचपास भएर भोलि ९बिहीबार० नेपालपट्टि ९रसुवा० प्रवेश गरिसक्छन्,’ भन्सारप्रमुख पनेरूले भने, ‘त्यसपछि हाम्रो भन्सारमा जाँचपास गरिन्छ । व्यवसायीले कन्टेनरमा रहेका सामानको मूल्य घोषणा गरेपछि जतिसक्दो चाँडो भन्सार क्लियर गरिदिन्छौँ ।’ चिनियाँ रेलमा व्यवसायीले तयारी लत्ताकपडा, जुत्ता, चप्पल र इलेक्ट्रिक सामान ल्याएका छन् । हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतम भन्छन्, ‘रेलमा घरायसी प्रयोजनका सामग्री धेरै छन्, इलेक्ट्रिक सामान पनि छन् ।’ वाणिज्यलाई वास्ता छैन परराष्ट्र मन्त्रालयले नेपालका लागि सामान बोकेर लान्चोउबाट सिगात्से गुडेको रेलमा रहेका सामानको सूची ३१ वैशाखमा वाणिज्य मन्त्रालयलाई पठाएको थियो । तर, निमित्त सचिवको समेत जिम्मेवारीमा रहेका वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले नेपालका लागि सामान बोकेर रेल आएकोबारे कुनै सोधिखोजी नगरेको बताए । ‘चीनबाट नेपालका लागि सामान बोकेर आएको रेल र त्यसमा के छ भन्नेबारे हामीले केही सोधिखोजी गरेका छैनौँ । हामीले रेडियोमा जे–जति सुनियो, त्यति मात्रै हो । अरू हामीलाई केही जानकारी छैन,’ उनले भने, ‘रेलमा के–के सामान आएको छ भन्ने परराष्ट्र मन्त्रालयले लेखेर त पठाएको छ । तर, सामानको कोड छ, नाम छैन, थप थाहा छैन ।’ एकपटकका लागि मात्र रेलमा समान आएको हो : वाणिज्य मन्त्रालय निमित्त सचिवको समेत जिम्मेवारीमा रहेका वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैँजूले चीनबाट एकपटकका लागि मात्र सिगात्सेसम्म रेलमा सामान आएको दाबी गरेका छन् । ‘रेलमा एकपटक मात्रै सामान आएको हो,’ उनले भने, ‘यो परीक्षणका रूपमा मात्र हो, सधैँलाई हुँदै होइन ।’ चीनसम्बन्धी व्यापार हेर्ने उपसचिव बुद्धि उपाध्यायले पनि एकपटकका लागि मात्रै रेलमा सामान आएको दाबी गरे । उनले भने, ‘हो, चीनले एकपटकलाई मात्रै रेलमा सामान पठाएको हो ।’ तर, भन्सार र व्यापारी भन्छन् : निरन्तर आउँछ रसुवा भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरूले सिगात्सेसम्म चिनियाँ रेलले नियमित समान ल्याइदिने बताए । उनले भने, ‘रेलबाट सिगात्सेम्म नियमित रूपमा सामान आउँछन् । त्यसपछि चिनियाँ कन्टेनरले केरुङसम्म ल्याइदिने हुन् ।’ हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतमले पनि रेलबाट नियमित सामान आउने बताए । ‘अब सिगात्सेसम्म चिनियाँ रेलबाट नियमित रूपमा सामान आउँछन्,’ उनले भने । रेलका सामान आज नेपाल आइपुग्छन् केदारप्रसाद पनेरू प्रमुख भन्सार अधिकृत, रसुवा भन्सार कार्यालय चिनियाँ रेलले सिगात्सेसम्म ल्याइदिएको सामान केरुङसम्म आएर रसुवा हुँदै काठमाडौं जाने जानकारी अँएपछि म बुधबार केरुङ गएको थिएँ । त्यहाँको पोर्टमा नेपाली सामान राख्न छुट्टै यार्डको व्यवस्था गरिएको रहेछ । त्यसमा तीन सय कन्टेनर अटाउन सक्ने देखिन्छ । यार्डलाइ चारैतिबाट घेरेर सुरक्षित बनाइएको छ । त्यो यार्डमा नेपाली कन्टेनर पुगिसकेका छन् । बुधबार दिउँसोसम्म १० वटा कन्टेनरमा त सामान पनि लोड भइसकेका छन् । ती सामान चिनियाँ भन्सार कार्यालयले जाँचपास गरेर छाडेपछि भोलि ९बिहीबार० नेपाल ९रसुवागढी० आइपुग्छन् । त्यसपछि हाम्रो भन्सार कार्यालयमा व्यवसायीले कन्टेनरका सामान र मूल्य घोषणा गरेपछि जाँचपास सकाएर काठमाडौं जाने वातावरण बन्छ । बुधबार मध्यमाञ्चलका क्षेत्रीय प्रशासक प्रमुख मुकुन्दराज प्रकाश घिमिरे पनि जानुभएको थियो । लान्चोउदेखि काठमाडौंसम्म यसरी आउँदै छ सामान लान्चोउदेखि दुई हजार चार सय ३१ किलोमिटर दूरी पार गर्दै सिगात्सेसम्म रेलमा सामान आए । सिगात्सेबाट केरुङको गिलोङ पोर्टसम्म पाँच सय ६४ किलोमिटर दूरीमा चिनियाँ ट्रक–कन्टेनरले सामान ओसारिरहेका छन् । गेलुङ पोर्टमा सामान लिन नेपाली ट्रक–कन्टेनर पुगेका छन् । सो पोर्टमा चिनियाँ भन्सार कार्यालयले सामान जाँचपास गरेपछि नेपालतर्फ टिमुरेमा रहेको रसुवा भन्सार कार्यालयमा पुनः जाँचपास हुन्छ । केरुङदेखि एक सय ६० किलोमिटर दूरी पार गर्दै नेपाली ट्रक–कन्टेनरले काठमाडौंसम्म सामान ओसार्नेछन् । परम्परागत समुद्री यातायातको तुलनामा रेलबाट ३५ दिन छिटो सामान नेपाल आउने व्यवसायीले बताएका छन् । (नयाँ पत्रिका बाट )

विशेष