News

माओवादीहरुको एकता आज, एकताका लागि केन्द्रीय नेताको सयुंक्त अधिवेशन हुंदै

माओवादीहरुको एकता आज, एकताका लागि केन्द्रीय नेताको सयुंक्त अधिवेशन हुंदै
2000px-Danghui.svg (1) प्रचण्डको नेतृत्वमा सशस्त्र संर्घष गरेका तर समयक्रममा भिन्न भएका चार माओवादी पार्टीहरुका बीचमा प्रचण्डकै नेतृत्वमा आज एकता हुंदैछ । प्रचण्ड, रामबहादुर थापा, मणि थापा र मातृका यादवले नेतृत्वमा रहेका दलका बीचमा आज एकता हुन लागेको हो । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा अहिले ति दलका केन्द्रीय समितिको संयुक्त अधिबेशन बस्दैछ । केन्द्रीय समितिहरुको संयुक्त अधिवेशनपछि आजै पार्टी एकता घोषणा हुने भएको छ । तीनबजे पार्टी घोषणा गर्ने गरी आन्तरिक तयारी तिब्र पारिएको छ । एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड रहने सर्बसम्मति भएको छ । बांकी पद र पार्टीको नाम टुंग्याउन शीर्ष नेताको बैठक जारी छ । यादव नेतृत्वको माओवादीले एकताका लागि केही शर्त अघि सारेको छ । पहिचानसहितको संघियतामा यादवको जोड छ । यादवको सर्तलाई प्रचण्डले सैद्धान्तिकरुपमा सहमति जनाएपछि यादवपनि एकताका लागि राजि भएको उनको स्वकीय सचिवालयले जनाएको छ । बैद्य नेतृत्वको माओवादीबाट विभाजित भइ नेत्रविक्रम चन्दले भिन्दै पार्टी बनाएपछि तटस्थ बस्दै आएकी नेतृ जयपुरी घर्तीपनि एकीकृत माओवादी फर्कदैछन् । सबै माओवादीका बीचमा एकता हुनुपर्ने भन्दै उनले एकताका लागि दबाब दिंदै आएकी थिइन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केही केन्द्रीय सदस्यपनि एकतामा सामेल हुने भएका छन् । तिलक परियारको नेतृत्वमा केही केन्द्रीय सदस्य चन्द नेतृत्वको माओवादी छाडेर एकता अधिवेशनमा सहभागी हुन लागेका हुन् । एकतामा आउने सबै पार्टीका केन्द्रीय सदस्य एकीकृत पार्टीकोपनि केन्द्रीय सदस्य रहने निर्णय गरिएको छ । एकीकृत नेकपा माओवादीमा विभाजन अघि तल्लो तहमा रहेका कतिपय सदस्यहरु विभाजनपछिको एकताबाट फर्कदा बढुवा हुंदैछन् । यसले एकीकृत माओवादीभित्र असन्तुष्टि पैदा गरेको छ । थामथुमका लागि एकतापछि केन्द्रीय कमिटी विस्तार गर्न सकिने प्रावधान राखिएको छ । एकतापछि बन्ने केन्द्रीय कमिटी जम्बो हुने भएको छ । तत्काल ४९९ को रहने केन्द्रीय कमिटी ६९९ सम्मको हुने बताइएको छ । शान्ति प्रक्रिया अघि र पछि गरी एकीकृत माओवादीबाट अलग भएको ठूलो हिस्सा पुनः एकीकृत भएपछि माओवादीवृत्तमा तरंग पैदा भएको छ । एकता प्रसंगले सबैभन्दा ठूलो क्षति मोहन बैद्य नेतृत्वको माओवादीलाई भएको छ । बहुमत केन्द्रीय सदस्यले बैद्यलाई बर्खास्त गरी महासचिव थापालाई अध्यक्ष बनाउंदै एकताका लागि निर्णय गरेका हुन् । बैद्य नीतिबिनाको एकता नगर्ने अडानमा थिए । माओवादी आन्दोलनका बरिष्ठतम् दलित नेता परियारको बर्हिगमनले चन्द नेतृत्वको माओवादीलाई झट्का लागेको छ ।

mawobadi politics

विशेष