एकताका लागि माओवादीहरुकोे सयुंक्त अधिवेशन शुरु, नेकपा माओवादी केन्द्र नामाकरण, अध्यक्षमा प्रचण्ड, महासचिवमा थापा
प्रचण्ड, रामबहादुर थापा, मणि थापा र मातृका यादवले नेतृत्वमा रहेका माओवादीहरुको संयुक्त अधिवेशन शुरु भएको छ ।
शीर्ष तहमा गरिएको एकताको निर्णय पारित गर्न ति दलको केन्द्रीय समितिको सयुंक्त अधिवेशन डाकिएको हो ।
केन्द्रीय समितिहरुको संयुक्त अधिवेशनले नेतृत्व तहमा भएका सहमतिलाई पारित गर्नेछ । जसअनुसार एकीकृत पार्टीको नाम नेकपा माओवादी केन्द्र रहनेछ । एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड रहने सर्बसम्मति भएको छ । महासचिवमा रामबहादुर थापा र उपमहासचिवमा कृष्णबहादुर महरा रहने सहमति भएको बताइएको छ । अन्य पदका बारेमा छलफल जारी नै रहेको बताइन्छ ।
तीनबजे पार्टी एकता घोषणा गर्ने कार्यक्रम छ ।
मातृका यादव नेतृत्वको माओवादीले एकताका लागि राखेका शर्त प्रचण्डले स्विकार गरेपछि उनीपनि सयुंक्त अधिवेशनमा सहभागी भएका छन् । यादवको सर्तलाई प्रचण्डले सैद्धान्तिकरुपमा सहमति जनाएपछि यादवपनि एकताका लागि राजि भएको उनको स्वकीय सचिवालयले जनाएको छ ।
बैद्य नेतृत्वको माओवादीबाट विभाजित भइ नेत्रविक्रम चन्दले भिन्दै पार्टी बनाएपछि तटस्थ बस्दै आएकी नेतृ जयपुरी घर्तीपनि अधिवेशनमा उपस्थित छन् । सबै माओवादीका बीचमा एकता हुनुपर्ने भन्दै उनले एकताका लागि दबाब दिंदै आएकी थिइन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केही केन्द्रीय सदस्यपनि एकतामा सामेल हुने भएका छन् । तिलक परियारको नेतृत्वमा केही केन्द्रीय सदस्य चन्द नेतृत्वको माओवादी छाडेर एकता अधिवेशनमा सहभागी हुन लागेका हुन् ।
एकतामा आउने सबै पार्टीका केन्द्रीय सदस्य एकीकृत पार्टीकोपनि केन्द्रीय सदस्य रहने निर्णय गरिएको छ । एकीकृत नेकपा माओवादीमा विभाजन अघि तल्लो तहमा रहेका कतिपय सदस्यहरु विभाजनपछिको एकताबाट फर्कदा बढुवा हुंदैछन् । यसले एकीकृत माओवादीभित्र असन्तुष्टि पैदा गरेको छ । थामथुमका लागि एकतापछि केन्द्रीय कमिटी विस्तार गर्न सकिने प्रावधान राखिएको छ ।
एकतापछि बन्ने केन्द्रीय कमिटी जम्बो हुने भएको छ । तत्काल ४९९ को रहने केन्द्रीय कमिटी ६९९ सम्मको हुने बताइएको छ ।
शान्ति प्रक्रिया अघि र पछि गरी एकीकृत माओवादीबाट अलग भएको ठूलो हिस्सा पुनः एकीकृत भएपछि माओवादीवृत्तमा तरंग पैदा भएको छ । एकता प्रसंगले सबैभन्दा ठूलो क्षति मोहन बैद्य नेतृत्वको माओवादीलाई भएको छ । बहुमत केन्द्रीय सदस्यले बैद्यलाई बर्खास्त गरी महासचिव थापालाई अध्यक्ष बनाउंदै एकताका लागि निर्णय गरेका हुन् । बैद्य नीतिबिनाको एकता नगर्ने अडानमा थिए । माओवादी आन्दोलनका बरिष्ठतम् दलित नेता परियारको बर्हिगमनले चन्द नेतृत्वको माओवादीलाई झट्का लागेको छ ।