तपाई बुद्धिजीवी हो भने प्रधानमन्त्री ओलीको आक्रोशबाट जागिनुहोस्
अघिल्ला सरकारहरू केवल समय गुजार्ने, जब मिति पुग्छ अनि छाडेर हिँड्ने, यसैमा सीमित भए । यो अभ्यास र तरिकालाई अब निरन्तरता दिन सकिँदैन र दिनुहुन्न ।
नेपालमा साधन–स्रोतको प्रचुरता छ । तर, न तीनको अध्ययन हुन्छ न अन्वेषण हुन्छ, न खोज–अनुसन्धान हुन्छ । हामीले अब यस अवस्थालाई तोडेर विकास निर्माणको अभियानमा जानैपर्छ । मैले यही अभियानलाई अगाडि सार्न खोजेको हुँ । यो अभियान अगाडि सार्न खोजेपछि अब विकास हुन्छ कि क्या हो, नहुनुपर्ने काम हुन आँट्यो कि क्या हो भन्दै एउटा तप्कामा आतंक फैलियो । जनता आशावादी बनेका छन, तर विद्वान् भनिनेहरू, बुद्धिजीवी कहलाउनेहरू आत्तिएका छन् । पढे–लेखेका हौँ भन्नेहरू केही छट्पटाएका छन् ।
आज मात्रै पनि एकजना बुद्धिजीवीले चटपट–सटपटे के भनेर लेखेको देखेँ । उहाँलाई त साह्रै ठूलो घोडाले छातीमा जोर लात हानेजस्तो भएको रहेछ । रेल पनि आउँछ भन्या छ, पानीजहाज पनि चलाउने भन्या छ । के–के गर्ने भयो अब भन्ने भएछ । जुन देशको समुद्र छैन, तिनले पानीजहाज चलाएका छन् कि छैनन् भन्ने कुरा हामीले थाहा पाउनुपर्यो कि परेन ? समुद्र ती देशको मात्रै होइन, जसको किनारा जोडिएको छ । अरूले पनि प्रयोग गर्न पाउँछन् । त्यसैले भारतसँग र चीनसँग हामीले पारवहन सन्धि गरेका छौँ ।
मैले ‘यो अहिले तत्काल भइहाल्दैन, केही समय लाग्छ, तर हामी चलाउनेछौँ’ भनेको थिएँ । त्यति के भनेको थिएँ, अहो एकैछिनपछि त तमासा देखियो । कसैले कागजका जहाज बनाएर गुडाउन थाले । कसैले पहाडमा जहाज बनाएर कुदाउन थाले । यस्तो बुद्धिलाई सलाम गर्नुपर्छ । ०२७ सालमै पानीजहाज किन्न आँटिएको रहेछ । बैनासमेत दिइसकेको रहेछ । कानुन बनाइसकेको रहेछ । झन्डा कसरी, कहाँ राख्ने भनेर भइसकेको रहेछ । मैले पहिलोपटक निकालेको यो कुरा भन्ठानेको थिएँ, तर पहिले यति अगाडि बढेको रहेछ । यो कुरा हिजो मात्र मलाई थाहा भो । अलिकति पैसा दिन नसकेर पछि हटेको रहेछ नेपाल ।
हामीले आफ्ना ट्रक लगेर कलकत्ताबाट सामान ल्याउनुहुन्छ भने रेलचाहिँ किन लैजानुहुन्न ? रक्सौलसम्म अरूको रेल आउनुहुन्छ भने हाम्रो रेल रक्सौलसम्म किन जानुहुन्न ? नेपालमा केही गर्छु भन्यो भने बुद्धिजीवीलाई चटपटे लाग्छ । नवलपरासीको पहाडमा हामीले १० किलोमिटरको फलाम खानी पत्ता लगाइसक्यौँ । अब त्यसको उत्खनन र प्रशोधन सुरु हुन्छ । इन्भर्टेड कमावाला बुद्धिजीवी छट्पटाउछन् यो कुरा सुनेर । दैलेखमा पेट्रोलियम खानीको सर्भे गरिसक्यौँ । उत्खनन गर्दै छौँ । अलिकति निष्कर्षमा पुर्याउन बाँकी छ । अब त्यो पेट्रोलियम नेपालबाट निकाल्ने कि ननिकाल्ने बुद्धिजीवीहरूले भनिदिनुपर्यो । अघि बद्री पँगेनीले सोध्नुभो– दक्षिणको तेल हाल्दाहाल्दा हैरान भइयो, उत्तरको कहिले हाल्न पाइन्छ । अब उत्तरको र दक्षिणको होइन, आफ्नै तेल बनाउने कोसिस गरौँ । दुई वर्षभित्र नेपालमा आफ्नै पेट्रोल उत्पादन हुन्छ ।
प्रकृतिले हामीलाई सबथोक दिएको छ । नेपालीजति राम्रो श्रमजीवी विश्वमा अरू मानिँदैनन् । अरूले नेपाली छान्छन् जे कामका लागि पनि । अनि यस्तो जनशक्तिले हाम्रै देश किन नबननाउने ? यस्तो उर्बर देशमा कृषिलाई औद्योगिकीकरण किन नगर्ने ? स्वदेशी तथा विदेशी उद्योगहरू किन स्थापना नगर्ने ? हामी एग्रो फरेस्ट्रीमा काम गर्नेछौँ । फलफूलको जंगल बनाउन सकिन्छ । न्युरोडमा घडेरी किनेर धुपीसल्ला लगाएर हुन्छ ? त्यसको आफ्नो ठाउँ हुन्छ । के लगाउनुपर्ने ठाउँमा के लगाएको छ । केटाकेटीलाई पढाइन्छ, पछि विद्वान् हुन्छ भनेर । त्यो पनि कसैलाई पत्यार भएन भने के जवाफ दिने ?
स्कुल हालेकै दिन खोइ त विद्वान् भएको भनेर सोध्नेलाई के जवाफ दिने ? बुद्धिजीवीका प्रश्न सुनेर छक्क पर्छु म । वास्तवमा जनताबाट होइन केही बुद्धिजीवीबाट म हैरान भइसकेँ । केमा आफ्नो बहादुरी देखाउने भने एउटा स्टाटस लेख्यो, ट्विट गर्यो । सारा दुनियाँलाई भ्रममा पार्यो । कसैले ए अँ भनिदियो भने छाती फुलायो । कुनै–कुनै सञ्चारमाध्यम देख्छु, आन्दोलनमा व्यापक जनसमर्थन देखियो रे । नाचगान भएको ठाउँमा मान्छे जम्मा हुँदैनन् ? उनीहरू त नाच हेर्न आएका हुन् । मैले त आन्दोलनकारीलाई बोलाएको हो नि, सिंहदरबारमा । बाहिर घाम तापेर, नाचगान गरेर बसेका छन् । जायज माग पूरा गरिदिने भनेको छु । तर, घाम तापेर बसेका छन् । मैले भनेको छु, आउँदो वर्ष ६५ प्रतिशत वृद्धिदर हासिल हुनेगरी तीव्रताका साथ काम अघि बढाइन्छ । पुनर्निर्माणका साथ अनेक काम गरिन्छ । तर, बुद्धिजीवीहरूलाई छटपटी छ । नीति तथा कार्यक्रमले गर्दा अलिकति छट्पटाए । अनि बजेट आउनै नदिने षड्यन्त्रमा लागे । तर, त्यो पार लागेन । नीति–कार्यक्रम त आयो । अब देश विकास गर्ने बजेट आउँछ कि भनेर पीर गरिरहेका छन् ।
हो त्यस्तै बजेट आउँछ, पीर मानेर के गर्ने ? देशलाई अगाडि बढाउने, जनतालाई हेर्ने बजेट आउँछ, आउँछ । बुद्धिजीवीहरू रोएर के गर्ने ? मैले देशभरका तुइनलाई झोलुंगे पुलले विस्थापित गर्नुपर्छ भनेँ । नहुने कुरा गर्यो पो भन्छन् । तुइन विस्थापति गर्नुहुँदैन ? कस्तो लाग्छ तपाईंलाई ? तुइन हटाउँछुभन्दा पनि आलोचना हुनु ठीक छ ? कुन असम्भव कुरा गरेको हो मैले ? सानो कुरा हो । पहिले गरेको भए हुन्थ्यो, गरेनन् । देश विकास एकैछिनको काम होइन । म एउटा कुरा तपाईंहरूलाई सिकाउँछु । निदाउने वेलामा डरलाग्दो सर्प सम्झेर सुत्यो भने सपनामा त्यही सर्पले दु:ख दिन्छ ।
नराम्रा कुराहरू सुनाइदिएर जनतालाई विनासित्ति त्रशित किन पार्ने ? जनताको आशा र विश्वास जगाउनु पो पर्छ । उल्टो हुँडल्दिने, भड्काउने हो ? यो पनि भएन, त्यो पनि भएन, यो पनि हुँदैन, त्यो पनि हुँदैन भनेर नकारात्मक चिन्तन फैलाउनु ठीक हो ? मैले सुनेको छु, जहिले पनि सरकारले यसो गर्छु भन्छ गर्दैन । अहिलेको सरकारले जसरी विगतमा कसैले भनेकै थिएन । भनेके थियो ? थिएन । अहिलेकोले भन्छ मात्र होइन गर्छ । अनि किन भनेको भनिन्छ ? जनतासँग कुरा लुकाउनुपर्ने होइन नि । हामी के गर्दै छौँ भन्ने जनताले थाहा पाउनुपर्छ । फलाम खानीको कुरा नपत्याउने कोही पत्रकार भेट्नुभयो भने कावासोतीभन्दा अलिकति उत्तर चढेर माथि पहाडतिर पठाइदिनुस् । पेट्रोलियम अन्वेषणको कुरा पत्याउँदैन भने दैलेखमा हेर्न पठाइदिनुस् । (प्रधानमन्त्री ओलीले प्रेस चौतारी नेपालको आठौँ अधिवेशनमा गरेको सम्बोधनको सम्पादित अंश)