ओलीको अर्को असम्भव बोलि, बिज्ञ भन्छन् २ बर्षमा उत्खनन् सम्भब छैन
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन हुने दाबी गरेका छन् । बिहीबार प्रेस चौतारी नेपालको आठौँ अधिवेशन उद्घाटन गर्दै उनले पेट्रोलियम अन्वेषण तथा उत्खननको काम सुरु भइसकेकाले अबको दुई वर्षपछि पेट्रोलमा छिमेकी देशको भर पर्नुनपर्ने बताए । तर, प्रधानमन्त्री ओलीले भनेजस्तै दुई वर्षभित्र पेट्रोल उत्पादनचाहिँ असम्भवप्राय: रहेको विज्ञहरू बताउँछन् ।
पहिलो अन्वेषणले पेट्रोलियम देखाएन
पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना (पिइपिपी)अन्तर्गत मुलुकका दक्षिणी भेगका पेट्रोलियम पदार्थ भएका सम्भावित १० स्थानको पहिचान गरेको थियो । त्यसपछि नेदरल्यान्डको सेलनामक कम्पनीले विराटनगर (१० नम्बर ब्लक)मा पहिलोपटक अन्वेषणको थालनी गर्यो । कम्पनीले तीन हजार पाँच सय २० मिटर गहिरो प्वाल (ड्रिल) पारेको थियो । तर, त्यहाँ कुनै पेट्रोलियम पदार्थ देखिएको थिएन । प्वाल सुक्खा देखिएको थियो । त्यसपछि कम्पनीले अन्वेषण अघि बढाएन । वैज्ञानिकका अनुसार सामान्यत: सतहदेखि चार हजार मिटर गहिराइमा पेट्रोलियम पदार्थ भेटिन्छन् ।
के नेपालमा पेट्रोलियम पदार्थ छ ?
सरकारले सन् १९८० को दशकमा पेट्रोलियम अन्वेषणको काम सुुरु गरेको हो । खानी तथा भूगर्भ विभागले विश्व बैंकलगायत दातृनिकायको सहयोगमा सन् १९८२ मा पेट्रोलियम पदार्थको सर्भे गरेको थियो । पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना (पिइपिपी)अन्तर्गत गरिएको सो सर्भेले नेपालको धनगढी, कर्णाली, लुम्बिनी, वीरगन्ज, मलंगवा, नेपालगन्ज, चितवन, जनकपुर, राजविराज र विराटनगरमा पेट्रोलियम पदार्थ रहेको सम्भावना देखाएको थियो । तर, हालसम्म पेट्रोलियम पदार्थ रहे–नरहेको यकिन हुन सकेको छैन ।
अमेरिका, बेलायत र युएईको अन्वेषण अपूरै
सरकारले सन् १९९० को दशकदेखि पेट्रोलियम अन्वेषणको प्रक्रिया अघि बढाएको हो । तर, अन्वेषणको जिम्मा पाएका कम्पनीहरूले नियमावलीको कमजोरीको फाइदा उठाउँदै कुनै काम नगरी लाइसेन्स मात्रै होल्ड गरे । सन् १९९८ मा अन्वेषणको अनुमति लिएको अमेरिकी कम्पनी टेक्साना रिसोर्सेसले सन् २००३ देखि काम गरेन भने सन् २००४ मा अनुमति प्राप्त गरेको बेलायतको केयर्न इनर्जीले पनि सन् २००५ देखि काम गरेन । त्यस्तै, सन् २०१२ मा थप ब्लकहरूमा अन्वेषणको जिम्मा लिएका युएईको युएबिजी र अमेरिकाको बिबिबी च्याम्पियनले पनि कुनै काम गरेनन् । तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले अन्वेषणको जिम्मा लिएर काम नगरेका चारैवटा कम्पनीसँगको सम्झौता खारेज गरिदिएका थिए ।
सातवटा ब्लकमा उच्च सम्भावना
टेक्साना र केयर्नले अन्वेषण पूरा गरेनन्, तर उनीहरूले गरेको प्रारम्भिक चरणका अन्वेषणले सम्भावित ब्लकहरूमा पेट्रोलियम पदार्थ रहेको देखाएको थियो । टेक्सानाले ब्लक ३ र ५ मा तथा बेलायतको केयर्न इनर्जीले ब्लक १, २, ४, ६ र ७ मा अन्वेषण गरेका थिए । ती ब्लकमा पेट्रोलियम पदार्थ हुन सक्ने उच्च सम्भावना देखिएको थियो ।
अब चीनको पालो
अमेरिका, बेलायत र युएईपछि नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न चीन आएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपालको पेट्रोलियम पदार्थ अन्वेषणमा सहयोग गर्न दुई मुलुकबीच सम्झौता भएको थियो । त्यसलगत्तै चिनियाँ विशेषज्ञहरू आएर नेपालको विभिन्न स्थानमा तेलको अन्वेषण गरिरहेका छन् ।
दुई वर्षमा उत्खनन सम्भव नै छैन
पेट्रोलियम अन्वेषणका लागि कम्तीमा दुई वर्ष लाग्ने विज्ञहरू बताउँछन् । पेट्रोलियम नियमावली, २०४१ को दफा १६ मा पेट्रोलियम पदार्थको प्राथमिक अन्वेषणका लागि चार वर्षको समय दिइने उल्लेख छ । कामको गतिअनुसार दुईदेखि चार वर्षभित्रमा अन्वेषण सम्पन्न गर्न सकिने विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनाल बताउँछन् । अन्वेषणले पेट्रोलियम पदार्थ रहेको देखाएमा बल्ल उत्खनन प्रक्रिया सुरू हुन्छ । यसरी हेर्दा दुई वर्षभित्रमा पेट्रोलियम उत्खनन असम्भवप्राय: छ ।
अधिक सम्भावना छ, तर समय लाग्छ
राजेन्द्रप्रसाद खनाल
महानिर्देशक, खानी तथा भूगर्भ विभाग
नेपालको जस्तै भौगोलिक संरचना भएका भारत र पाकिस्तानका थुप्रै क्षेत्रमा पेट्रोलियम उत्खनन (उत्पादन) नै सुरु भइसकेको छ । यसअघि गरिएका सर्भे तथा प्रारम्भिक चरणका अन्वेषणले पनि नेपालमा पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको छ । तर, कहाँ र कति मात्रामा छ भन्नेचाहिँ अन्वेषणपछि मात्रै थाहा हुने छ । अन्वेषण र उत्खननका लागि निकै लामो समय कुर्नुपर्ने हुन्छ । अहिले असाध्यै सुरुवाती चरणका काम मात्रै भइरहेका छन् ।
अन्वेषणकै लागि अर्बौ लगानी
सन् १९८० को दशकमा नेदरल्यान्डको सेलनामक कम्पनीले विराटनगरमा पेट्रोलियम अन्वेषण गर्दा झन्डै १० मिलियन डलर खर्च भएको थियो । यसलाई आधार मान्दा अहिले एउटा ब्लक अन्वेषणकै लागि दुई अर्बभन्दा बढी रकम लाग्ने विभागको अनुमान छ ।
के गर्दै छन् चिनियाँ विशेषज्ञ ?
अहिले करिब सातजना चिनियाँ विशेषज्ञले नेपालका विभिन्न क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गरिरहेका छन् । उनीहरूले खानी तथा भूगर्भ विभागका प्राविधिज्ञसहित सुर्खेत, दैलेख, पाल्पा, नवलपरासीलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गरेका छन् । अहिले चिनियाँ विशेषज्ञले पूर्वमा अध्ययन गरिरहेका छन् । यो असाध्यै सुरुवाती चरणको अध्ययन हो । जसका कारण चिनियाँ टोलीले विस्तृत अध्ययन एवं अन्वेषणको तालिका अझै बनाइसकेको छैन
(नयाँ पत्रिका बाट)