भावि रणनीति बनाउन पुर्वराजा दमकमा
पूर्वराजा ज्ञानेन्द्र शाह तीन हप्ते पूर्वी नेपालको भ्रमणका क्रममा झापाको दमक पुगेका छन् । पृथ्वीजयन्ती तथा नयां बर्षको सन्र्दभमा विज्ञप्तिमार्फत बदलिएको राजनीतिप्रति असन्तुष्टि प्रकट गरेर राजनीतिक अभ्यासको संकेत गरेका पूर्वराजा शाहको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
उनी परिवारका सदस्यलाई काठमाडौंमै छाडेर लामो भ्रमणमा निस्किएका हुन् । मोटरबाटो हुंदै दमक पुगेका शाहलाई ठाऊंठाऊंमा स्वागत गरिएको थियो । भक्तपुर, काभ्रेको बनेपा, सिन्धुलीको खुर्कोट र सिन्धुलीमाढी, सुनसरीको इटहरीलगायतका विभिन्न स्थानमा उनको स्वागत गरिएको थियो । ठाऊंठाऊंमा गरिएको स्वागतका कारण उनको यात्रामा ढिलाइ भएको थियो ।
पूर्वराजा शाह दमकस्थित आफ्नै चिया बगानमा बसिरहेको उनको सचिवालयले जनाएको छ । अहिलेसम्म कुनै औपचारिक कार्यक्रम तय भइसकेको छैन । दमक बसाइका क्रममा पूर्वी क्षेत्रका बासिन्दासंग छलफलमा व्यस्त रहने बताइएको छ ।
सीमावर्ती बसाइ र रहस्य
पूर्वराजा शाहले राजतन्त्र हटेको सात बर्षपछि जारी राजनीति घटनाक्रमका बारेमा खुलेरै आलोचना गरेका हुन् । यसअघि उनले काव्यात्मक शैलीमा असन्तुष्टि व्यक्त गर्ने गर्दथे । संविधान निर्माण भएसंगै उनी सोझै प्रस्तुत हुन थालेका हुन् । पछिल्ला दिनमा उनले दरबार छोडेपनि घरबार नछोडेको, धर्म नासिएको, राज्यको ढुकुटीमाथि नेताहरुको कुदृष्टि परेको जस्ता शब्दावली प्रयोग गरेर राजनीतिलाई तरंगित बनाइसकेका छन् ।
झापा हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग चर्कोरुपमा उठ्ने ठाऊं मध्येमा पर्दछ । पूर्वी नाकापनि हो यो । मधेश आन्दोलनमा हिन्दुराष्ट्रको प्रसंगपनि उठ्ने गरेको छ । यि सबै दृष्टिले हेर्दा पूर्वराजाको पूर्व बसाइ अर्थपूर्ण रहेको बताइन्छ ।
पूर्वराजाको आंखा विप्लवतिर
मधेश आन्दोलन उत्कर्षमा रहेका बेला पूर्वराजाको सक्रियता बढेको थियो । उनी त्यहीं मेसोमा राजनीतिप्रतिको आक्रोशलाई आफुप्रतिको आर्कषणमा बदल्न चाहन्थे । तर, मधेश आन्दोलन त्यो तहसम्म उनका लागि उपयोगी हुन सकेन । अहिले उनी विप्लव नेतृत्वको नेकपा माओवादीतर्फ चनाख भइरहेका छन् । दमक पुगेका पूर्वराजा शाहले विप्लव माओवादीको काठमाडौंमा आयोजित कार्यक्रमका बारेमा रिपोर्ट लिएका थिए । विप्लवले के बोले र उनले के रणनीति लिन सक्छन् भन्नेमा उनको चाख रहेको स्रोतले बतायो । विप्लवले गर्ने भनिएको बिद्रोहले जारी राजनीतिक प्रक्रियामा असर पु¥याउने र आफु खेल्न सक्ने वातावरण पैदा हुन सक्ने पूर्वराजाको अपेक्षा रहेको बताइन्छ ।