चेपाङ बस्तिका बालबालिका कुपोषणको सिकार
जेठ, ९, जोगीमार धुसराङको चेपाङ बस्तिमा ज्याला गरेर पनि परिवार पाल्न धौ धौ हुने चेपाङ परिवारका बालबालिका कुपोषणको सिकार भएकाछन् ।
आमाले खाने पौष्टिक तत्व त परै जाओस अहिले चेपाङ गाउँमा हरियो सागसब्जी पनि केही छैन । घरमा खाने अन्नको दाना छैन । आमाले खान पाए पो दूध आउँछ र शिशुले दूध खान पाएर बढ्छ । जोगीमारा–७, धुसराङ निवासी ४० वर्षीया विष्णुमाया चेपाङले पाँच महिनाअघि जन्माएको छोरा अति कुपोषणको सिकार भएको छ । छोराले आमाको दूध चुस्न नपाएपछि बढ्न नसकेको उनकी आमा विष्णुमायाको भनाइ छ ।
विष्णुमायाले नौ शिशु जन्म दिइन, हाल पाँच शिशु मात्र जीवित छन । सबै शिशु कुपोषणले ग्रस्त छन् । लगाउने एक धरो कपडा समेत छैन । हिँड्न सक्ने शिशु गाउँमा माग्न जान्छन् र अलि ठूला भएका कतै सानोतिनो ज्याला गर्न जान्छन् । ज्याला नपाएको दिन परिवार भोकै समेत पर्ने गरेको अनुभव विष्णुमायासँग छ ।
साधारणतया जन्मनेबित्तिकै शिशुको तौल तीन किलोग्रामको हाराहारीमा हुन्छ । विष्णुमायाको पाँच महिना पुगेको शिशुको तौल दुई किलोग्राम ५०० ग्राम मात्र छ । यस अवधिमा बच्चाको तौल करिब पाँच वा छ केजीसम्मको हुनुपर्ने हुन्छ । अलि ठूलो टाउको तथा ठूला मान्छेका औँला जत्रा मात्र हात र खुट्टा छन् । ख्याउटे शिशु बिरामी भएर आँखा मात्र हेरिरहेको अवस्थामा विष्णुमायाको शिशु भेटिएको पोषणसम्बन्धी काम गर्ने संस्था एसडिपिसीका जिल्ला संयोजक पूजा गुभाजुले जानकारी दिनुभयो ।
इन्टरनेसनल मेडिकल कर्पसको सहयोगमा एसडिपिसीले कडा कुपोषण भएको शिशुलाई उपचार र पोषणयुक्त खानेकुरा खुवाउने कार्यमा सहयोग गर्दै आएको छ । कुपोषित अवस्थाका बिरामीलाई सहयोग गरेजस्तै विष्णुमायाको पाँच महिनाको शिशुलाई उद्धार गरी उपचारमा राखिएको छ । उसलाई एफ ७५ र एफ १०० उपचार विधिबाट उपचार गरिँदै गरेको गुभाजुले जानकारी दिनुभयो । रासस