काभ्रेको करिब दुई सय स्थानमा खानेपानीको मूल सुक्दा स्थानीयलाई सास्ति
जेठ, १०, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, काभ्रेपलाञ्चोकको पहलमा गाविस सामाजिक परिचालकद्वारा गरिएको पछिल्लो सर्वेक्षणले जिल्लाको १७४ स्थानमा खानेपानीको मूल सुकेपछि खानेपानीको वैकल्पिक स्रोत उपभोग भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पपछि १९७ स्थानमा खानेपानीको मूल सुक्दा स्थानीयवासीले सास्ती खेपेका छन् । काभ्रेपलाञ्चोकको चण्डेनीमण्डन, तिमाल, कोसीपारिलगायतका क्षेत्रका विभिन्न गाविसमा रहेका खानेपानीको स्रोत सुकेकाले थप वैकल्पिक स्रोत खोजी गरिदिन स्थानीयवासीले अनुरोध गरेका छन् ।
डिभिजन कार्यालय, धुलिखेलले दिएको एक तथ्याङ्कअनुसार ४१७ खानेपानीको मूलमा पानीको स्रोत घटेको छ भने १८१ ठाउँमा पानीको वैकल्पिक स्रोतसमेत छैन । पानीको मुहान सुकेको छ तर कुन कुन ठाउँको भन्ने विषयमा विश्लेषण भएको छैन सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका अधिकृत रामकाजी काफ्लेले भन्नुभयो ।
उहाँले खानेपानीको सोत सुकेको ठाउँमा के गर्ने भन्ने विषयमा ठोस प्रगति हासिल नभएको उल्लेख गर्दै जिल्लाभर नै खानेपानीको अवस्थाबारे प्राविधिकसहित सम्भाव्यता अध्ययन गरिने बताउनुभयो । काफ्लेले खानेपानीको समस्या समाधान गर्न कतिपय स्थानमा सहुलियत दर वा अनुदानमा आकासे पानीको सङ्कलन प्रविधि भित्र्याउने विषयमा समेत छलफल भएको जानकारी दिँदै कुनै पनि नीतिगत निर्णय भएको छैन भन्नुभयो । रासस