आईसीसीले क्यानलाई किन गर्यो निलम्बन
जेठ ११ काठकाण्डौ अघिल्लो महिना नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्यानलाई प्रतिबन्ध लगाउनुका कारण दिएको छ ।
आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई आइतबार पत्र पठाउँदै त्यसको कारण दिएका हुन् । नेपाली क्रिकेटको समस्याका विषयमा आईसीसीका उच्च पदाधिकारीले सम्बोधन गरेको यो पहिलो पटक हो । यो विषयमा रिचर्डसनले आईसीसीका ग्लोबल प्रमुख टिम एन्डरसनलाई पनि स्पष्ट पारेर क्यानलाई अर्को पत्र लेख्न निर्देशन दिएका छन् ।
निलम्बनबाट बाहिर आउनका लागि क्यानका पदाधिकारीहरूले आईसीसीसँग सहकार्य गर्नुपर्ने पनि उक्त पत्रमा बताएको छ । यो समस्या यथावत् रहुन्जेल नेपाली राष्ट्रिय क्रिकेट टिमको गतिविधि तथा नेपाली क्रिकेटको व्यवस्थापन आईसीसीले प्रत्यक्ष रूपमा गर्ने विश्व क्रिकेटको सर्वोच्च निकायले स्पष्ट पारेको छ ।
मंसिरको अन्तिममा भएको क्यानको विवादित साधारणसभा र पदाधिकारीहरूको निर्वाचनपछि क्यान तथा नेपाली क्रिकेटको प्रशासन नियन्त्रणमा लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तदर्थ समिति गठन गरेको पत्रमा बताएको छ ।
आईसीसीले क्यानलाई निलम्बन गर्नुका कारण
विवादित साधारणसभाको कारण नै तदर्थ समिति गठन भएको आईसीसीले स्पष्ट पारेको छ ।
राखेपको हस्तक्षेप पनि आईसीसीको आर्टिकल २.९ ‘बी’ अनुरूप नरहेका कारण क्यानलाई निलम्बन गरिएको आईसीसीले जनाएको छ ।
निर्वाचित क्यानले आर्टिकल २.९ ‘ए’ अनुसार स्वतन्त्र र निष्पक्ष निर्वाचन नगरेको आईसीसीले पत्रमा उल्लेख गरेको छ ।
रिचर्डसनले निर्वाचित क्यानका अध्यक्ष चन्दलाई पठाएको इमेल आईसीसीका अध्यक्ष शशांक मनोहर, आईसीसी चिफ अप्रटिङ अफिसर, जनरल काउनसेल इयान हिगिन्स र एन्डरसनलाईसमेत पठाएका छन ।