News

पड्केको सिलिन्डरको मोटाइ आधा कम

पड्केको सिलिन्डरको मोटाइ आधा कम
Gas Cylinder Explode जेष्ठ १३, २०७३- पाटनमा गत शुक्रबार विस्फोट भएको एचपी ब्रान्डको सिलिन्डरको मोटाइ कम भेटिएको छ । महानगरीय प्रहरी परिसर, आपूर्ति विभाग, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय उपभोक्ता मञ्चले गरेको घटनाको प्रारम्भिक अध्ययनमा सिलिन्डरको आवश्यक मोटाइभन्दा आधाभन्दा कम पाइएको हो । गुणस्तर मापदण्डअनुसार सामान्यतया सिलिन्डरको मोटाइ २ दशमलव ९ मिमि हुनुपर्छ । तर विस्फोट भएको हिमालय पेट्रोकेमिकल्सको उक्त सिलिन्डरको मोटाइ एक दशमलव ८३ मिमि मात्र भएको अध्ययनले देखाएको छ । उक्त सिलिन्डर एपीएल कम्पनीले उत्पादन गरेको हो । आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अधिकृत रामचन्द्र काफ्लेले घटनास्थल निरीक्षणका क्रममा ग्यास सिलिन्डरको मोटाइ केही कम पाइएको बताए । ‘थप जाँचबुझका लागि नापतौल तथा गुणस्तर विभाग पठाएका छौं,’ उनले भने, ‘विस्तृत रिपोर्ट शुक्रबारसम्म आइसक्छ ।’ प्रतिवेदन आएपछि आवश्यक छानबिन गरी ग्यास उद्योगका सञ्चालकलाई उपभोक्ता ऐनअनुसार कडा कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने उनले जनाए । सामान्यतया ग्यास विस्फोट हुँदा सुरुमा रेगुलेटरको मुनिपट्टिको भल्भ पड्कने गर्छ । तर उपनपा–१९ हौगलस्थित तामा–पित्तलको ज्यासलमा भएको उक्त दुर्घटनामा सिलिन्डर बीच भागबाट पड्किएको थियो । पड्किएर सिलिन्डर टुक्रा–टुक्रा भएको थियो । सिलिन्डर विस्फोटबाट सुरेश ताम्राकार र ध्रुव ताम्राकारको मृत्यु भएको थियो । घाइते राजेश ताम्राकार र कविना ताम्राकारको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले यस विषयालाई सरकारले गम्भीरतापूर्वक लिई दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए । ‘विभागले यस्तै अन्य दुर्घटना दोहोरिन नदिन कडा रूपमा अनुगमन गर्नुपर्‍यो,’ उनले भने । पाटनमा मूर्तिकलालगायत काममा ग्यासको प्रयोग हुन्छ । यसबारे सरकारलाई ध्यानाकर्षण गराउन ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्राकारको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति पनि बनेको छ । समितिले यस्ता दुर्घटना थप हुन नदिन सरकारी अनुगमनलगायत उचित क्षतिपूर्ति दिलाउने काम गर्ने अध्यक्ष ताम्राकारले बताए । ग्यास उद्यमीहरूले सिलिन्डरबाट हुने क्षतिपूर्ति दिन तेस्रो पक्षीय बिमा गरेका हुन्छन् । बिमा रकम कम्पनीपिच्छे फरक–फरक हुने गरेको छ । जसमा १५ लाखदेखि ३० लाखसम्मको छ । सरकारी निकायकै कमजोरीका कारण बिमा रकममा एकरूपता नभएको ग्यास वितरकहरू बताउँछन् । ग्यास वितरक संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले सिलिन्डरबाट हुने क्षतिपूर्ति कम्तीमा ५० लाख रुपैयाँको हुनुपर्ने बताए । ‘ग्यास उद्योगीहरूले जनताको जिउधनसँग खेलबाड गरिरहेको छ,’ उनले भने, ‘यो क्रम तत्काल बन्द हुनुपर्छ ।’ मुलुकमा ग्यास सिलिन्डरहरूको प्रयोग बढदो छ । घरमा खाना पकाउन मात्र नभई गाडी, प्रेस, कार्पेट वासिङ, धातुको वेल्डिङजस्ता कार्यमा पनि ग्यासकै प्रयोग हुन थालेको छ । वार्षिक करिब ३५ अर्ब रुपैयाँ बराबरको कारोबार हुने ग्यास उद्योगलाई मात्र अनुगमन र नियन्त्रण गर्ने छुट्टै प्रभावकारी संयन्त्र नहुँदा पटक–पटक यस्तो दुर्घटना दोहोरिने गरेको श्रेष्ठले बताए । सुरक्षित तरिकाले ग्यास प्रयोग गर्नेबारे सर्वसाधारणमा पनि पर्याप्त जानकारी छैन । एलपी ग्यास सम्बन्धमा आयल निगमले ग्याससम्बन्धी नियमावली र नापतौल तथा गुणस्तर विभागले आचारसंहिता बनाएको छ । यसबाहेक ग्याससम्बन्धी बेग्लै ऐन पनि छैन । मुलुकमा ५३ ग्यास कम्पनी छन् भने बजारमा प्रमाणित करिब ६२ लाख सिलिन्डर छन् । (कान्तिपुर दैनिक बाट)

विशेष