News

प्रधानमन्त्रीको पार्टीभित्रै बढ्यो असन्तुष्टि

प्रधानमन्त्रीको पार्टीभित्रै बढ्यो असन्तुष्टि

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग बरिष्ठ नेता झलनाथ खनाल र माधब नेपाल असन्तुष्ट पार्टी एक भएर सरकारलाई साथ दिए पनि प्रधानमन्त्रीले बालुवाटार र सिंहदरबारबाट गुट मात्र चलाएको आरोप

नेपालका असन्तुष्टि १. केन्द्रीय कमिटीका निर्णय कार्यान्वयन भएनन् गत ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले विभाग गठन, प्रादेशिक संगठन कमिटी बनाउने र सरकार–पार्टीबीच समन्वयका लागि छुट्टै संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । एक साताभित्र विभाग गठन गरी तल्लो तहसम्म सर्कुलर पठाउने निर्णय भए पनि डेढ महिना बित्न लाग्दा अहिलेसम्म ३१ मध्ये २२ वटा विभाग मात्रै गठन भएका छन् । स्थायी समितिले प्रदेश कमिटी बनाउने निर्णय गरे पनि कस्तो कमिटी बनाउनेबारे औपचारिक छलफलसमेत भएन । ‘केन्द्रीय कमिटीले निर्णय गरेको एक महिना १० दिन बित्यो, तर किन कार्यान्वयन भएन् ?, किन संयन्त्र बनेन ? तीन दिनभित्र जारी गर्न सकिने सर्कुलर किन कार्यकर्ताबीच पुगेन ?, त्यो त हाम्रो हातमा छैन,’ मदन भण्डारी अध्ययन केन्द्रले गरेको राष्ट्रिय भेलामा सचिव योगेश भट्टराईले भने ।

२. संस्थागत निर्णय र परामर्श हुँदैन भेलामा नेता नेपाल र वरिष्ठ नेता झलनाथ खनाल दुवैले पार्टीमा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक औपचारिकतामै सीमित हुने गरेको आरोप लगाएका छन् । ‘आवश्यक परामर्श त परै जाओस्, स्थायी समितिमा कसैले विरोधमा बोल्ने धृष्टता गरिहाल्यो भने कर्के नजरले हेरिन्छ,’ नेपालले असन्तुष्टि पोख्दै भने, ‘गुट चलाउनेको हातमा पार्टी गएको छ, पार्टी चलाउनेहरूचाहिँ चाउरिएर बस्नुपरेको स्थिति छ ।’ चाउरिएर बस्नुपरेको स्थिति छ ।’

३. दशौँ महाधिवेशनलाई लक्षित गरेर सदस्यतामा धाँधली नेता नेपालले दशौँ महाधिवेशनलाई लक्षित गरेर संस्थापनले संगठित सदस्यता वितरण र सरुवामा मनपरी गरेको आरोप लगाएका छन् । साढे दुई महिनाअघि नुवाकोटमा जिल्ला अधिवेशन सम्पन्न भयो । नेपाल पक्षमा रहेका तत्कालीन अध्यक्ष नारायण खतिवडाले अनुमोदन गरेर पठाइएका तीन सय नयाँ पार्टी सदस्यतामध्ये अधिकांशलाई नदिइएको, तर ६ महिनाअघि सम्पन्न काभ्रे अधिवेशनका क्रममा भने संस्थापननिकट अध्यक्ष रहेका रामहरि सुवेदीले पठाएका करिब सात सय नयाँ सदस्यमध्ये संगठन विभागले स्वीकृति दिइएको नेपाल पक्षको आरोप छ । यीबाहेक अन्य जिल्ला र काठमाडौंका विभिन्न क्षेत्रमा सदस्यता सरुवा गरेको नेपाल पक्षको आरोप छ।

४. मन्त्रीदेखि राजदूत नियुक्तिसम्म एकलौटी केपी शर्मा ओली आठ महिनादेखि प्रधानमन्त्री छन् । तर, नेपाल पक्षले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको मन्त्रिमण्डलमा मन्त्री पठाउने, सुकुम्बासी आयोगका अध्यक्ष र राजनीतिक नियुक्तिमा ओलीले एकलौटी गरेको आरोप लगाएको थियो । जब ओली प्रधानमन्त्री बने, त्यसलगत्तै पार्टीमा छलफलै नगरी मन्त्रीहरू नियुक्त गरेको, राज्यमन्त्रीहरूको चयन एकलौटी गरेको विषयले प्राथमिकता पायो । एक महिनाअघि नियुक्त गरिएका २१ राजदूतमध्ये एमालेका तर्फबाट ६ जना नियुक्त भएकामा एकजना पनि पार्टीमा परामर्श गरी नगरिएको नेपाल पक्षको आरोप छ ।

५. अधिवेशनमा पनि सत्ताको दुरुपयोग नेता नेपालले जिल्ला अधिवेशन र भ्रातृ संगठनको अधिवेशनमा संस्थापन पक्षधरलाई जिताउन सरकारी स्रोत–साधनको दुरुपयोग गर्नुका साथै पैसाको छेलोखेलो बगाइएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘आफ्नालाई जिताउन प्रलोभनमा पारेर जागिरपत्रमा उधारो हस्ताक्षरसमेत गरेको भेटिएको छ,’ नेपालले मंगलबार भने ।

नेपाललाई मनाउने ओलीका प्रयास तेस्रो मर्यादा अधिवेशनमा झिनो मतले पराजित नेता नेपाल अध्यक्ष ओलीले २९ साउन ०७१ मा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकबाट तेस्रो मर्यादाको बरियतामा रहने निर्णय गरे । बैठकमा सदस्यहरूकै लहरमा बसेका  नेपाललाई मञ्चमा बोलाएर ओलीले तेस्रो मर्यादामा राखेर सम्मान दिए ।

बर्थडेमा ‘सरप्राइज’ गत २३ फागुनमा बालुवाटारमा बसेको स्थायी समिति बैठकमा ओलीले नेता नेपालको ६४औँ जन्मदिन मनाएर ‘सरप्राइज्ड’ दिए । स्थायी समिति सदस्यमाझ अकस्मात् ओलीले ६४ वटा गुलावका फूलसहित ‘गिफ्ट’ दिएपछि नेपाल प्रसन्न भएका थिए भने अरूले ताली बजाएका थिए । ‘मलाई त नोटिस (याद) नै भएन, यस्तो जानकारी भएको भए अर्कै पहिरनमा आउँथे नि !’ ज्याकेट र पाइन्ट लगाएर बालुवाटार पुगेका नेपालले भनेका थिए । सोही बैठकमा ओलीले केक काटेर नेपाललाई खुवाएका थिए ।

यसकारण भड्किए ओलीसाग झलनाथ नवौँ महाधिवेशनपछि झलनाथ खनाल एमालेमा दोस्रो मर्यादाका वरिष्ठ नेता छन् । नवौँमा केपी ओली र माधवकुमार नेपालबीच अध्यक्षमा कडा प्रतिस्पर्धा भयो । उनीनिकट अधिकांश नेता–कार्यकर्ता नेपालका समर्थक बने । तर, खनाल खुलेनन् । ३९ मतअन्तरले नेपाल पराजित भए । उच्च स्रोतका अनुसार ओलीले खनाललाई आफू अध्यक्षमा निर्वाचित भएपछि राष्ट्रपति बनाउने वचन दिएका थिए । भद्र सहमतिअनुसार नेता खनाल अघिल्लो वर्षको फागुनसम्म तटस्थ भूमिकामा थिए । तर, राष्ट्रपति विद्या भण्डारी भइन् । त्यस्तै, माधव नेपाललाई विदेश विभाग दिएर ओलीले खनाललाई नीति–अनुसन्धान प्रतिष्ठानमा खुम्च्याए । प्रधानमन्त्रीले खास विषयमा सल्लाहसमेत नगरेपछि पार्टीमा दोस्रो मर्यादामा रहेका खनाल असन्तुष्ट छन् ।

सचिव योगेश भट्टराई भन्छन् : पार्टीको आन्तरिक मामिलामा बालुवाटार र सिंहदरबारको शक्ति प्रयोग नहोस् । स्थापनाकालदेखि आजसम्म पार्टीलाई मजबुत बनाउन ठूलो योगदान गर्नुभएको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष बनेर मुलुकको नेतृत्व गरिरहनुभएको छ । गलत तरिकाको पार्टीभित्र विरोध हुन्छ । प्रधानमन्त्री बिदाइको अवस्थामा पुग्दा राष्ट्रको हितविरुद्ध हुन्छ भनेर हामीले कसरी भूमिका खेल्यौँ ? माधव नेपाल, जेएन, वामदेव गौतमलगायतका नेताहरू कसरी लाग्नुभो, त्यो कुरा सम्झिनुस् । एमालेको एकता बलियो बनाउन, संविधान कार्यान्वयनका लागि सबै पार्टी सहमतिमा आउन सन्देश दिनका लागि मदन भण्डारी अध्ययन केन्द्रले भेला गरेको हो, नआत्तिऔँ ।

विस्फोटको रहस्य बुझिएन हिक्मत कार्की केन्द्रीय सदस्य एमालेमा फेरि एउटा विस्फोटनको हल्ला सुनिएको छ । कुरो के हो थाहा छैन । ड्याङ ड्याम्म.. म.म.म. यस्तो विस्फोटनको आवाज एमालेका विरुद्धमा धेरैपटक सुनियो । पहिलोपटक ०३९ र ०४० मा कथित अल्पमत र बहुमत । दोस्रोपटक मदन भण्डारी र जीवराज अश्रितको सुनियोजित हत्या । तेस्रोपटक १२ भदौ ०५२ को सर्वोच्चको फैसला । चौथोपटक ०५४ माघमा पार्टी विभाजन । पाँचौँपटक ०५२ देखि ०६२ सम्म लगातार उग्रवादी आतंक । छैटौँपटक ०६४ को पहिलो संविधानसभा चुनावमा ३३ सिट ल्याई तेस्रो स्थानमा सीमित । सातौँपटक अहिले सरकारको नीति कार्यक्रमपछि बजेट प्रस्तुतिको संघारमा ड्याम्म…ड्याम्म…ड्याम्मको कर्कस आवाज आएको छ । समय फरक र पात्र फेरिएका छन् । डिजाइनर एउटै, के हो ? रहस्य बुझ्नै सकिएन, धन्यवाद ।

विशेष