विदेश

तालिवानका नयां सरदार

तालिवानका नयां सरदार
[caption id="attachment_2377" align="alignleft" width="300"]फाइल फोटो फाइल फोटो[/caption] जेठ १३, अमेरिकी ड्रोन हमलामा मुल्लाह अख्तर मन्सुर मारिएपछि अफगानिस्तानका तालिवानले आफ्नो नयाँ नेता चयन  गरेको छ । उनको उत्तराधिकारीका रूपमा मलबी हिबतुल्लाह अखुन्डजादालाई चयन गरेका हुन् । उनका बारेमा यसअघि थोरै मात्र विवरण सार्वजनिक गरिए पनि उनी तालिवानमाझ निर्विवादित नेता भएको बताइन्छ । तालिवानले पहिलोपटक मन्सुरको मृत्युलाई औपचारिक रूपमा स्वीकार्दै बुधबार नयाँ नेताको चयन गरेका हुन् । चयन निर्बिरोध गत वर्षको जुनमा तालिवानका संस्थापकमध्येका एक तथा गत वर्षको जुनमा तत्कालीन नेता मुल्लाह मोहमद ओमारको मृत्युपछि नयाँ नेतामा मन्सुरको चयनसँगै तालिवानमाझ ठूलो विवाद उत्पन्न भएको थियो ।  सोही कारण तालिवान विभाजनको संघारमा समेत पुगेको थियो । तर, मन्सुर पनि मारिएपछि नयाँ नेता चयन पक्रियामा भने कुनै विवाद नभएको तालिवानले दाबी गरेको छ । को हुन् मलबी हिबतुल्लाह ? नवनियुक्त मलबी हिबतुल्लाह तालिवानको कंगारु अदालतको प्रमुखको भूमिकामा थिए ।  उनी सैन्य कमान्डरभन्दा पनि तालिवानका एक लोकप्रिय धार्मिक नेता हुन् । उनी अफगानिस्तानका तालिवान उपनेतामध्येका एक पनि थिए । तालिवानका तर्फबाट जारी हुने अधिकांश फतवामा उनी नै बढी जिम्मेवार छन् । हिबतुल्लाहले आफ्नो अधिकांश जीवन अफगानिस्तानको भूमिमा तालिवानी गतिविधिमा बिताएका छन् । ४० देखि ४५ वर्ष पुगेको अनुमान गरिएका हिबतुल्लाहल देशबाहिर विरलै भ्रमण गर्ने तालिवानी नेतामध्ये एक हुन् । पाकिस्तानी सहर क्वेटामा रहेको अफगानी तालिवान नेताहरूको कथित आधार क्वेटा–सुरासँग उनको निकट सम्बन्ध रहेको बताइन्छ । मन्सुरले हिबतुल्लाहलाई आफ्नो मृत्युअगाडि नै उत्तराधिकारी तोकेको एक तालिवानी नेताको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ । नयाँ नेता हिबतुल्लाहले मन्सुरको मृत्युअघि दुई वर्षसम्म लडाकुको नेतृत्व गरेका थिए । उनी तालिवानको मुटु मानिने दक्षिणी कान्दहर प्रान्तको इसहक्वाजी जातिको प्रतिनिधित्व गर्छन् । कतिपयले उनलाई अलोकोजाई पास्तुम समुदायबाट आएको बताउँछन् । नयाँ नेताप्रति अगाध विश्वास नयाँ नेताप्रति सबै तालिवान नेता र कार्यकर्ताको अगाध विश्वास र भक्तिभाव रहेको तालिवानले जनाएको छ । ‘सुरा (सर्वोच्च परिषद्)को सर्वसम्मत सहमतिपछि  इस्लामिक इमरेट (तालिवान)को मुख्य नेतामा हिबतुल्लाह अखुन्डजादा चुनिएका छन् । सुराका सम्पूर्ण सदस्य उनीप्रति भक्तिभाव देखाउनेछन,’ तालिवानले एक विज्ञप्तिमा भनेको छ । परिषद्ले वर्तमान उप नेता सिरजुद्दिन हक्वानीसँगै मुल्लाह ओमारका छोरा मुल्लाह मोहमद याकोबलाई तालिवान आन्दोलनको संयुक्त उपप्रमुखका रूपमा चयन गरेको जनाएको छ । हक्वानी सञ्जालका नेता सिरजुद्दिन हक्वानी अफगानिस्तानमा भएका हिंसात्मक हमलाका मुख्य योजनाकार भएको आरोप लागेको छ । यस सञ्जाललाई लक्ष्य गरी अफगानिस्तान सरकारले बारम्बार छापा मार्ने गरेको छ । शान्ति प्रक्रियाको भविष्य कता ? छिमेकी मुलुक पाकिस्तानले विगत केही सातायता अफगानिस्तान सरकार र तालिवानबीच शान्तिवार्ताकोे गर्दै आएको छ । शान्तिवार्तामा तालिवानको नयाँ नेतृत्वले खासै असर नगर्ने विश्लेषकले बताएका छन् । यसैबीच अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुलाह अब्दुल्लाहका प्रवक्ताले नयाँ नेतालाई वार्तामा आउन आग्रह गरेका छन् । ‘हामी हिबतुल्लााहलाई शान्तिवार्ताका लागि आमन्त्रण गर्छौं । तालिवानका लागि राजनीतिक निकास नै अन्तिम विकल्प हो । अन्यथा नयाँ नेतृत्वले पनि मन्सुरको जस्तै नियति भोग्नुपर्नेछ,’ प्रवक्ता जभिद फैसालले ट्विट गरेका छन् । अफगानिस्तान सरकार र तालिवानबीच जारी वार्ता पक्रियामा मन्सुर मुख्य बाधक बनेको अमेरिकाको बुझाई छ ।

विशेष