सुर्तीजन्य पदार्थको प्रभावकारी उन्मूलनमा जोड
जेठ - १३- उपराष्ट्रपति नन्दबहादुर पुनले क्षयरोग तथा सुर्तीजन्य पदार्थको उन्मूलनका लागि सरकार र सम्बन्धित निकायले अझै प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
नेपाल क्षयरोग निवारण नामक संस्थाको आयोजनामा क्षयरोग तथा फोक्सोसम्बन्धी रोग नियन्त्रणमा अन्तर्राष्ट्रिय क्षयरोगविरुद्धको संस्था ‘द युनियनको दक्षिण पूर्वी एसियाली मुलुककोे तेस्रो क्षेत्रीय सम्मेलन’ को यहाँ आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य क्षेत्रमा अनुसन्धान आवश्यक छ भने
उनले नेपालको नयाँ संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चित गरेको छ भने ।
“क्षयरोग र फोक्सोको समस्यामा अझै अपेक्षित कमी आउन सकेको छैन । यो नेपालमा मात्रै होइन, विश्वभरका अविकसित, अतिकमविकसित मुलुकको ठूलो स्वास्थ्य समस्या बनेर आइरहेको छ । यद्यपि क्षयरोग नियन्त्रणका लागि विश्वमा थुप्रै प्रयास भइरहेका छन्”– उपराष्ट्रपति पुनले भने ।
सम्मेलनमा पूर्वी दक्षिण एसियाली १० मुलुक र नेपालबाट गरी १०० भन्दा बढी प्रतिनिधि पर्यवेक्षक सहभागी छन् । विसं २०१० देखि जनस्तरबाट क्षयरोग निवारणका लागि क्रियाशील नेपाल क्षयरोग निवारण संस्थाले अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्नुका साथै नेपालमा क्षयरोग नियन्त्रणको क्षेत्रमा सरकारसँग हातेमालो गर्दै आइरहेको छ । रासस