उत्तरको धम्कीले डराउँदैनौँ–दक्षिण कोरियाली राष्ट्रपति पार्क
जेठ, १४ दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाली सरकारले पछिल्लो समयमा दिने गरेको आणविक परीक्षणको धम्कीले नडराउने बताएका छन् ।
उनले भने, यस्तो धम्कीले हामी कुनै पनि हालतमा डराउँदैनौँ, हामीलाई यस्ता आणविक परीक्षणका विगतका धम्कीहरुले पनि केही गर्न सकेको छैन । आणविक परीक्षणको शृंखला नै चलाएको उत्तर कोरियाले पछिल्लो समयमा दक्षिण कोरियालाई चीसो पस्ने गरेको छ । उत्तरको आणविक परीक्षणका कारण यी दुई छिमेकी एक आपसमा पछिल्लो समयमा विवादमा पर्ने गरेका छन् ।
योनहाप समाचार समितिद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले पनि उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरिरहेको सूचना आफूले पाएको बताए । दक्षिण कोरियाले उत्तर कोरियासँग अघि बढाउन लागेको शान्तिको प्रयासलाई उत्तरले असफल तुल्याइदिएको पनि उनले बताए ।
उनले उत्तरले हालैमात्र आफ्नो पार्टीको सातौँ राष्ट्रिय कंग्रेसका अवसरमा आफूलाई एक आणविक राष्ट्रका रुपमा परिचित नै गराएको दाबी पनि गरे । शान्तिवार्ता एवम् दुई देशबीचको समझ्दारीको एजेण्डालाई उत्तरले कहिल्यै पनि प्राथमिकतामा नराखेकोले पछिल्लो समयमा यसको सम्भावना पनि हराएको उनले बताए । रासस