गाउँमै ढँटेलो उद्योग सञ्चालनले स्थानीयमा खुसी
[caption id="attachment_2812" align="alignnone" width="700"] File Photo[/caption]
जुम्ला, १५ जेठ । कालिकाखेतु–८ बाजागाड गाउँमा रत्न ढँटेलो उद्योग सञ्चालनमा आएको छ । गाउँमै उद्योग सञ्चालन भएपछि स्थानीयवासी निकै खुसी भएका छन् । सुन्दर नेपाल र हिमालयन बायोट्रेड लिमिटेडको सहयोगमा उद्योग स्थापना भएको हो । तीन महिना अघिबाट उद्योग सञ्चालनमा आएको सञ्चालक ऐनबहादुर शाहीले जानकारी दिए ।
ढँटेलेको तेलको मूल्य स्थानीयस्तरमा रु ७०० र बजारमा रु एक हजार १०० रहेको छ । स्थानीयस्तरमा खान र शरीरमा लगाउन मात्र प्रयोगमा आउने यो तेल युरोप, अमेरिकामा परफ्यूम, क्रिम, शरीर मालिस गर्ने र बासनादार चीज बनाएर बिक्री वितरण गर्ने महँगो वस्तुका रुपमा रहेको छ ।
उद्योग सञ्चालक शाहीका अनुसार एक दिनमा २४ किलो ढँटेलोको बीउबाट १२ किलो तेल निकाल्न सकिन्छ । “हामी कहाँ प्रशस्त मात्रामा जहाँतहीँ पाइने ढँटेलोको विशेष महत्व रहेछ, तथापि यसको फाइदा र गुणका विषयमा सुन्दर नेपाल संस्थाले जागरण गराएपछि उद्योग स्थापना गरेका हौँ”–सञ्चालक शाहीले भने ।
दुवै संस्थाको संयुक्त सहयोगमा रु दुई लाखको लागतमा तेल प्रशोधन गृह र रु एक लाख ५० हजारको लागतमा सोलार ड्रायरिङ गृह निर्माण गरिएको उनले बताए ।
सुन्दर नेपालका जिल्ला संयोजक कमल भुसालले वनमा आधारित उद्यम विकास प्रवद्र्धन परियोजनाअन्तर्गत ढँटेलो उद्योग स्थापनामा सहयोग गरिएको बताए। स्थानीयस्तरमा उत्पादन हुने ढँटेलो तेलको महत्वलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय बजारमा बुझाउन, समुदायमा यसको व्यावसायिक प्रवद्र्धन गर्न, उद्यमी उत्पादन गरी उनीहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले उद्योग स्थपना गरिएको बताइएको छ ।
उद्योगले अहिले गाउँमा ढँटेलो लगाउने, सङ्कलन र प्रशोधन गर्ने काम गरिरहेको उद्योगका सदस्य गोइली बमले बताउनुभयो । उद्योगका अर्का सदस्य पदम शाहीले यसको महत्व बुझेपछि अहिले १५७ ढँटेलेको बोट लगाएको बताए । उहाँका अनुसार उद्योगबाट हुने आम्दानीको ५ प्रतिशत रकम सामुदायिक वन विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ । रासस