News

विद्यार्थीलाई निर्मम यातना दिने स्कुल

विद्यार्थीलाई निर्मम यातना दिने स्कुल
[caption id="attachment_2975" align="alignleft" width="800"]तस्विरः कान्तिपुर तस्विरः कान्तिपुर[/caption] राजधानीको शंखमूलस्थित केएमसी स्कुलका २३ छात्रा होस्टेल वार्डेनको कुटाइबाट बिरामी परेका छन् । होस्टेलमा राखेका विद्यार्थी कक्षामा तीन मिनेट ढिला आएको निहुँमा वार्डेन वसन्त ज्ञवालीले पाइपले पिटेका थिए । बुधबार पाइपले पिटेको नीलडाम शनिबारसम्म निको भएको छैन । एसएलसीको तयारी कक्षा भन्दै बिहान र बेलुका थप पढाइ सुरु गरेपछि विद्यार्थीहरूलाई होस्टलमा राखिएको थियो । शिक्षकको पिटाइबाट १० कक्षाकी छात्रा ऐश्वर्या शर्मा, सिसम पोखरेल, अप्सना नेपाल र शुभकामना कुशवाह बिरामी परेका छन् । पिटाइबाट ज्वरो आएपछि विद्यालयले नजिकैको मेडिकलबाट एन्टिबायोटिक ल्याएर खुवाउँदा पनि जानकारी नगराएको अभिभावकको गुनासो छ । विद्यालयमा आफ्ना छोरी सुरक्षित नभएको भन्दै पाँच विद्यार्थीलाई अभिभावकले शनिबार घर ल्याएका छन् । ‘कुटाइबाट अझै ज्वरो आइरहेको छ,’ अप्सनाकी आमाले भनिन्, ‘छोरीलाई कुटेको देखेर पीडाले हामी पनि चिन्तामा छौं ।’ कुटाइको पीडा सहन नसकेर अप्सना शुक्रबार बेहोस भएको उनकी साथीले बताइन् । छोरीको नीलडाम देखेपछि सहन नसकेर यसरी फिर्ता ल्याएका अभिभावकहरू बताउँछन् । बुधबार साढे ६ बजे होस्टेलको कक्षामा नपुगेको भन्दै होस्टेल वार्डेन ज्ञवालीले २३ छात्रालाई पिटेको विद्यार्थीहरूले बताए । ‘नियमित कक्षा सकाएर होस्टेल रुममा मोजा धुँदा तीन मिनेट ढिला पुगेका थियौं,’ एक विद्यार्थीले भनिन्, ‘किन ढिला आएको भन्दै पाइपले जथाभावी हान्नुभयो । रोयो भने थप हान्ने चेतावनी दिएपछि सहेर बस्यौं ।’ पाइपले हानेपछि बेन्चमा बस्न पनि नसकेको विद्यार्थी बताउँछन् । त्यस दिन राति १० बजेसम्म पीडा सहेरै कक्षामा बसेको पनि उनीहरूले बताए । ‘कोठामा आएपछि एकले अर्कोको घाउ हेर्दै रोयौं,’ एक विद्यार्थीले भने, ‘सबैको नीलो डाम देख्यौं ।’ आफ्नो समस्या सुनाउनसमेत नभ्याई अन्धाधुन्ध कुटेको विद्यार्थीहरू बताउँछन् । कुटाइबाट बिरामी छात्रालाई विद्यालयले नजिकैको शुभकामना मेडिकलमा परीक्षण गराएर औषधि खुवाएको थियो । एन्टिबायोटिक खुवाइरहेको रहेछ,’ एक अभिभावकले भने, ‘तर, हामीलाई खबर गरेनन् ।’ घरमा आमाबुबाले ठूलो स्वरले बोल्दा पनि पिलपिल आँसु झार्ने बालिकालाई पाइपले हानेको जानकारी अभिभावकले तीन दिनपछि मात्रै थाहा पाए । ‘छोरीलाई कुटेको शुक्रबार राति मात्रै थाहा पाएँ । ‘गोरुलाई जस्तो कुट्ने गरी मेरो छोरीले के बिगारिन् ?’ विद्यालयका निर्देशक दुर्गाजंग कार्कीलाई प्रश्न गर्दै एक अभिभावकले भने, ‘अपराधीलाई त पिट्न पाइँदैन । छोरीलाई पिट्ने शिक्षकलाई कारबाही गरियोस् । मेरो बच्चा यहाँ राख्नु छैन, घरमै लैजान्छु ।’ अर्का शिक्षक भीम धिमालले पनि बारम्बार यातना दिने गरेको विद्यार्थीहरूले बताएका छन् । बुधबार शिक्षक वसन्तले पिटेको कुरा अभिभावकलाई भनेको भन्दै धम्क्याएपछि उनीहरू झन् त्रासमा छन् । ‘शिक्षकको यातना कति दिन खपेर बस्ने ? अब त कहिले निस्केर जाउँजस्तो भएको छ,’ एक विद्यार्थीले भनिन् । केएमसीले १० कक्षामा भर्ना शुल्कबापत १० हजार लिएको थियो भने होस्टेलमा राख्न फेरि भर्ना शुल्क भन्दै १८ हजार लिएको अभिभावकले जनाएका छन् । ‘यति धेरै पैसा तिरेपछि राम्रो शिक्षा देला भनेको, यातना पो दिँदो रहेछ,’ एक अभिभावकले भने । आजको कान्तिपुरबाट

Student

विशेष