फिलिपिन्समा निर्वाचनमा हिंसा भड्कियो, कम्तीमा दशको मृत्यु
मनिला, २७ वैशाख । फिलिपिन्समा सोमबार निर्वाचनका क्रममा हिंसा भड्किएको समाचार छ । सो हिंसामा परी दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ । सोमबार राष्ट्रपति र अरु केन्द्रीय र स्थानीय गरी करिब १८ हजार पदका लागि निर्वाचन भएको हो । सो निर्वाचनको विरोध गरिरहेका विद्रोही समूहरुले मतपेटिका लुट्ने, मतदातामाथि नै हमला गर्ने, कर्मचारीलाई एम्बुसमा पारी हमला गर्ने तथा कतिपय स्थानमा मतदान केन्द्रमा नै हमला गर्ने काम गरिरहेका बताइएको छ । सुरक्षानिकायले यस्ता क्रियाकलापहरुका विरुद्धमा कारबाही गरिरहेको र त्यस क्रममा परी दश जना जति मारिएका समाचारमा जनाइएको छ ।
तर सरकारले यस हिंसालाई खासै ठूलो हिंसा भनेको छैन । उसले देशभरिमा भएको निर्वाचनका क्रममा यी छिटपुट घटना भएको जनाएको छ । देशव्यापी रुपमा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको सरकारले जनाएको छ । निर्वाचनका क्रममा भएका यी छिट्पुट घटना सामान्य भएको सरकारको भनाई छ । रासस÷एएफपी