साहित्यकार सिलवालको आत्महत्या प्रयासपछि मृत्यु
जेठ - १६- साहित्यकार तथा बगर फाउन्डेसनका संस्थापक अध्यक्ष नकुल सिलवालले आफ्नै निवासमा हात्महत्या प्रयासपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएकोछ ।
बिहान करिब ७ बजे कोठामा एक्लै भएका बेला सिलवालले आत्महत्याको प्रयास गरेका थिए । परिवारले थाहा पाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदा बाटैमा उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । सिलवालको शव अहिले परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको वृत्तका प्रहरी सहायक निरीक्षक रामविनय सिंहले राससलाई जानकारी दिए ।
विसं २०१९ मा सिन्धुपाल्चोकको सेलाङ गाविसमा जन्मिएका साहित्यकार सिलवालले २०३९ सालमा बगर फाउन्डेसन खोली नेपाली साहित्यिक कृतिको प्रकाशन र ‘बगर’ र ‘नदी’ पत्रिका सम्पादन गर्दै अाएका थिए । उनका कथा, निबन्ध, उपन्यास, लेख, कविता सङ्ग्रहलगायत एक दर्जन पुस्तक प्रकाशन भएको छिमेकी एकराज आचार्यले बताए । साहित्यकार सिलवालले विभिन्न विधाका पाँच दर्जन कृतिको सम्पादन समेत गरेका छन् । हाल ओमकारमार्ग, शान्तिनगर नयाँ बानेश्वरमा बस्दै अाएका उनका श्रीमती र दुई छोरा छन् । रासस
Bagar Death literature