विदेश

बिबीसीका सम्वाददाता उत्तर कोरियाली थुनामा

बिबीसीका सम्वाददाता उत्तर कोरियाली थुनामा

सोल, २७ वैशाख । बिबसीका एकजना सम्वाददाता उत्तर कोरियाली सुरक्षाकर्मीको थुनामा परेको समाचार छ । उनलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । उनलाई उत्तर कोरियाली कम्युनिष्ट पार्टीको कङ्ग्रेसको समाचार सङ्कनका लागि आमन्त्रणमा गरिएको थियो । सो कार्यक्रम सकेर फर्किने बेलामा उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।

उनलाई गएको आठ घन्टादेखि थुनामा राखिएको छ । उनले पठाएको उक्त कङ््ग्रेसको समाचारका विषयलाई लिएर उनीमाथि छानबीन गरिएको बताइएको छ । बिबीसीका अरु पत्रकारसँगै उनी घर फर्किने तयारी गरिरहेका बेलामा उनलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ । जनाइएअनुसार सो समाचारमा उनले सत्यतथ्य रिपोर्टिङ् नगरेको भनी आरोप लगाइएको छ ।

सोही आधारमा उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताइन्छ । त्यस घटनामा र विशेषगरी विशिष्ट खालका राजनीतिक घटनामा समाचार सङ्कलनका लागि उत्तर कोरियाली सरकारले विदेशी सम्वाददाता बोलाउने गर्दछ । तर ती सम्वाददाताका लागि समाचार पठाउने विभिन्न कडा खालका नियम बनाउने गरिन्छ । ती नियमहरु पालना नगरी समाचार पठाउने गरिएमा ती सम्वाददातालाई पक्राउ गरी कारबाही गर्ने गरिएका घटना यसअघि पनि हुने गर्दछन् । यसपालिको उक्त पार्टी कङ्ग्रेसको समाचार सङ्कनका लागि पनि विभिन्न देशबाट प्रतिनिधि आमन्त्रण गरिएको थियो ।

बिबीसीका पत्रकार रुपर्ट विङफिल्ड हेज पनि सोही आमन्त्रणमा उत्तर कोरिया पुगेका थिए । तर उनले गरेको समाचार सङ्कलनका विषयमा सरकारले प्रश्न उठाएको छ । समाचारदाताहरुका लागि यसअघि नै दिइएको कार्यादेशभन्दा बाहिर गएर समाचार पठाएको आरोप उनीमाथि लगाइएको छ । उनी र बिबीसीको समूह एक अस्पतालको भ्रमणमा गएका थिए । उनीहरु सो अस्पतालमा किन गएका हुन् भन्ने बारेमा प्रहरीले उनीमाथि प्रश्न गरिरहेको बताइएको छ । उनलाई प्रहरी हिरासदमा राखिएको नभई एक होटलमा नियन्त्रणमा राखिएको छ र उनले उक्त अस्पताल भ्रमण गरेका र त्यसका तस्विरहरु लिइएको बारेमा प्रश्न गरिएको समाचारमा जनाइएको छ । रासस÷एएफपी

विशेष