
काठमाडौं, जेठ १७ हत्या अभियोगमा भागेर नेपाल आई लुकेर बसेका बेला पक्राउ परेपछि भारत पुर्याइएका कुख्यात भारतीय अपराधी बब्लु दुवेको योजनामा उद्योयी सुरेश केडियाको अपहरण भएको खुलेको छ । कारागारमा रहेका बब्लुले भारत र नेपालमा रहेका सहयोगी परिचालन गरेर केडियाको अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
हतियारसहित नेपाल आएका भारतीय आपराधिक समुहले बिहिबार बाराको बरियापुरबाट केडियालाई अपहरण गरेका थिए । अपहरणका लागि बब्लुले आफ्नो भाईको संयोजनमा नेपाल र भारतीय सहयोगीलाई परिचालन गरेको खुल्न आएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।
अपहरणमा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले रञ्जन झालाई पक्राउ गरेको छ । भारतीय प्रहरीका अनुसार एक दिनअघि अपहरणमा प्रयोग भएको गाडी फेला परेको थियो । लगत्तै गाडीका चालकलाई प्रहरीले समातेपछि प्रहरी अपहरणकारीसम्म पुगेर केडियालाई छुटाउन सफल भएको थियो ।
कान्तिपुर दैनिकबाट
Suresh Kediya