News

तीन वर्षमा सत्ताइस किमी सडक

तीन वर्षमा सत्ताइस किमी सडक
1baneshwor काठमाडौँ, २७ वैशाख । काठमाडौँ महानगरपालिकाले तीन वर्षमा २७ दशमलव ९ किलोमिटर सडकको पुनःनिर्माण सकिसकेको जनाएको छ । विसं २०६९देखि हालसम्मका लागि ३४ दशमलव ५६ किमी सडक पुनःनिर्माण गर्ने योजना रहेको भए पनि सात किमी सडक पुनःनिर्माण हुन नसकेको हो । निर्माण सम्पन्न भएका सडकललाई विभिन्न छ चरणमा काम अगाडि बढाइएको कामपाले जनाएको छ । पहिलो चरणअन्तर्गत सूर्यविक्रम ज्ञवली मार्ग, लिक मार्ग, कुमारी मार्ग, सेतीओपी मार्ग र घट्टेकुलो पिपलबोट डिल्लीबजार मार्गको काम सम्पन्न भइसेकेको छ भने प्रयाग मार्गमा निर्माण कार्य जारी रहेको महानगरका पूर्वाधार विकास महाशाखा प्रमुख सुरेशकुमार राईले जानकारी दिनुभयो । त्यसैगरी, दोस्रो चरणअन्तर्गत चक्कु मार्ग, दशरथचन्द्र मार्ग सामुदायिक तथा सुविधा मार्ग, लाम्टागिन मार्गको निर्माण कार्य सम्पन्न भइसकेको छ । तेस्रो, चौथो, पाँचौँ र छैटौँ चरणमध्ये मैजुबहाल मार्ग, श्रम मार्ग गौरी गल्ली श्रीनगर मार्ग न्यू प्लाजा मार्गको काम सक्न बाँकी रहेको बताइएको छ । अन्य सबै योजना सम्पन्न भइसकेको छ । “प्राधिकरण र टेलिकमले समयमा नै पोल नसार्नु नाकाबन्दीको कारण भएको इन्धन अभावले गर्दा योजनामा परेका सडक समयमा नै पुनःनिर्माण गर्न समस्या भएको हो”– प्रमुख राईले भन्नुभयो । अब बाँकी रहेका सबै सडकको पुनःनिर्माण कार्य अबको केही समयमा सक्ने कामपाले जनाएको छ । प्रमुख राईका अनुसार चालु आवका लागि ९ दशमलव ३३ किमी सडक पुनःनिर्माण गर्ने योजना छ । त्यसका लागि रु २८ करोड बजेट लाग्ने अनुमान गरिएको छ । रासस

विशेष