नागरिक अस्पतालले बिरामीलाई तिर्यो रु दुई लाख क्षतिपूर्ति

१८ जेठ । अस्पतालको लापरवाहीले बिरामीको जबर्जस्ती शल्यक्रिया गरी खुट्टाको मुख्य नसा काटेपछि भक्तपुरको गट्ठाघरस्थित नागरिक अस्पतालले बिरामीलाई रु दुई लाख क्षतिपूर्ति तिरेको छ ।
सप्तरी घर भई हाल कौशलटारमा बस्दै आएका उपेन्द्र मण्डलको पाँच वर्षीया छोरी निसुको खुट्टामा समस्या आएपछि गत कात्तिक ३ गते नागरिक अस्पताल भर्ना गरिएको थियो । उपेन्द्रकी श्रीमती रीताकुमारीले बच्चाको खुट्टाको शल्यक्रिया गरे मात्रै ठीक हुन्छ अन्यथा खुट्टा काट्नुपर्ने वा खुट्टा छोटो हुन्छ भनेर अस्पतालले डर देखाएपछि खुट्टाको शल्यक्रिया गरिएको बताए।
“खुट्टाको शल्यक्रिया गरेको तीन महिनासम्म पनि ब्यान्डेज खोलेन, ठीक हुन्छ भन्दै ढाँटेर राख्यो”, उनले भने, “अन्य अस्पतालमा लगेर सिटीस्क्यान र एमआरआई गरेपछि बल्ल थाहा भयो, मेरो छोरीको त खट्टाको मुख्य रक्तनली नै काटिएको रहेछ ।”
अस्पताल प्रशासनले डा सुरज बज्राचार्यले बालिकाको शल्यक्रिया गरेको जानकारी दिएको छ । डा बज्राचार्यको भने शल्यक्रियामा आफ्नो गल्ती नभएको दाबी रहेको छ । सोही अस्पतालमा उपचार गराउँदा लाखौँ रुपैयाँ सकिएको बताउँदै उनले उपचारकै क्रममा आठ महिनापछि मात्रै छोरी हिँड्न नसक्ने अवस्थामा पुगेको थाहा पाएको बताइन ।
अस्पतालमा यसबारे जानकारी गराउँदा ‘यो कुरा बाहिर लगे जे पनि गर्न सक्छौँ’ भनेर अस्पतालका निर्देशक सुरेश श्रेष्ठले फोनबाट पटक–पटक धम्क्याएपछि कौशलटार र गट्ठाघरका बासिन्दाले दुई दिनअगाडि अस्पताल घेराउ गरेका थिए । महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिएर अस्पतालमा पटक–पटक घेराउ गरेपछि अस्पताल प्रशासनले सोमबार अन्य अस्पतालमा थप उपचार गर्न भन्दै दुई लाख रुपैयाँ क्षतिपूर्ति दिएको बालिकाको बाबु उपेन्द्रले जानकारी दिए।
महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले पीडित पक्षलाई अस्पतालले दुई लाख रुपैयाँ क्षतिपूर्ति दिएर मिलापत्र गरेको बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा पुष्पमान अमात्यले प्रहरी वृत्त थिमिको रोहवरमा पीडित पक्षलाई क्षतिपूर्ति दिएर समस्या सुल्झाएको बताए । रासस
Bhaktapur
hospital
Nagarik hospital
