यो सरकार ७४ साल मंसीर सम्म रहन्छ - प्रधानमन्त्री ओली
काठमाडौँ १८ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट पास भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुनै सहमति नभएको बताएका छन् ।राष्ट्रिय सहमतिको सरकार बन्दा एमालेकै नेतृत्वमा हुने भन्दै उनले नभए यो सरकारले नै २०७४ साल मंसिरमा चुनाव गर्ने बताए ।
यो सरकार कहिलेसम्म रहन्छ त भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले ०७४ साल मंसिरमा चुनाव गराउँछ र त्यसमा बहुमत ल्याउँछ । त्यसपछि तपाईहरुको प्रश्नको थप उत्तर दिउँला ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो २७ औ स्थापना दिवसको अवसरमा आयोजित जलपालमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जेन्टलमेन्ट एग्रिमेन्ट भनेको के नौबुँदे देख्नु भएन तपाईहरुले नौबुँदेमा हस्ताक्षर छैन अनि हस्ताक्षर भएर जेन्टलमेन्ट एग्रिमेन्ट के हुन्छ ’
सञ्चारकर्मीहरुले कांग्रेससँग भएको जस्तै भन्दा उनले भने, ‘त्यस्तो होइन । फरक कुरा थियो । पछि १६ बुँदे अर्कै सन्दर्भमा थियो । र, यसपल्ट त्यस्तो कुनै सहमति भएको छैन ।’
कांग्रेसले सरकार फेर्ने प्रयास गर्दा एमाले र एमाओवादीबीच नौबुँदे सहमति भएको थियो । र, बजेट पाएपछि प्रचण्डको नेतृत्वमा सरकार बनाउने भद्र सहमति भएको माओवादीको दाबी छ ।
तर, प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘मैले हेरे, तीनबुँदा भनेर यो यो लेखिएछ । स्वीकार गरिएको तीनबुँदा हो कि अस्वीकार गरिएको उनी आफैंले जवाफ लिए, त्यो स्वीकार गरिएको थिएन ।’
उसो भए प्रचण्ड प्रधानमन्त्री हुँदेनन् त भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘जो पनि प्रधानमन्त्री हुने त छँदैछ नि’ भनेका छन् ।राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा मात्र प्रचण्डलाई सरकार छाड्ने संकेत गर्दै उनले भने, ‘एमाले र र माओवादीको सहमतिले राष्ट्रिय सहमति बन्दैन ।’