News

बैद्य नेतृत्वको माओवादी फुटको संघारमा

बैद्य नेतृत्वको माओवादी फुटको संघारमा

बहुमत केन्द्रीत सदस्यसहित थापा एकीकृत माओवादीसंग एकीकरण गर्दै थापा उपाध्यक्ष, गुरुङ उपाध्यक्ष वा महासचिव, नेतृ भुसाल सचिव बन्ने  मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बहुमत सदस्यसहित एकीकृत नेकपा माओवादीमा फर्कर्ने भएका छन् । एकीकृत नेकपा माओवादी र थापा पक्षका बीचमा १२ बुंदे सहमति भएको छ ।

सहमतिमा जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादी क्रान्ति गर्ने उल्लेख छ । एकीकृत माओवादीले जनवादी क्रान्तिको चरण लगभग पूरा भइसकेको दाबी गर्दै आएको थियो । थापा पक्षले जनवादी क्रान्तिका महत्वपूर्ण कार्यभार पूरा भइनसकेको दृष्टिकोण राख्दथ्यो । प्रचण्ड र थापा दुबैको साख जोगिने गरी शब्द चयन गरिएको छ । राज्यव्यवश्था र संविधानलाई हेर्ने कुरामापनि दुबै पक्षको मत मिलेको छ ।

राज्यचरित्र प्रतिक्रियावादी रहेको तथा संविधानका उपलब्धीको रक्षा गर्दै थप उपलब्धीका लागि संर्षष गर्नुपर्ने निष्कर्ष दुबै पक्षले निकालेका छन् । संविधानसभाको निर्वाचन बहिष्कार गरेको थापा पक्षले सोही संविधानसभाले बनाएको संविधानलाई आलोचनात्मकरुपमा ग्रहण गर्न सहमति जनाएको छ । सदन, सरकार र सडकमार्फत जनताका अधिकारका लागि थप संर्घष गर्ने सहमति भएको छ । सदन र सरकारमा संविधानतः थापा पक्षका सदस्य हुने छैनन् । नयां निर्वाचन नभएसम्म सांसद हेरफेर गर्न पाइदैन । सांसद नभइ मन्त्री बन्न पाइदैन ।

बैद्यबिनाको एकता माओवादी आन्दोलनका अभिभावक मानिने मोहन बैद्यबिनै रामबहादुर थापाले एकीकृत माओवादीसंग एकता गर्न लागेका हुन् । मंगलबार सांझ बैद्यसंग एकताका बारेमा अन्तिम प्रयास गरिएपनि सो प्रयास असफल भएको थापा पक्षधर एक नेताले जानकारी दिए । संख्या ठूलो नभएकाले आफु एक्लै भएपनि लडिरहने तर अवसरवादी सहवास नगर्ने भन्दै बैद्यले तत्काल एकीकृत माओवादीसंग एकता नगर्ने अडान लिएका हुन् । बैद्यलाई उपाध्यक्ष सिपी गजुरेल, नेताहरु इन्द्रमोहन सिक्देल, हरिभक्त कंडेल, परि थापा, राम सिंहलगायतका झण्डै ७० जना केन्द्रीय सदस्यले साथ दिएका छन् ।

रामबहादुर थापालाई देब गुरुङ, पम्फा भुसाललगायतका १२५ जना केन्द्रीय सदस्यले साथ दिने बताइएको छ । मंगलबारको थापा पक्षधरको बैठकमा १ सय १२ जना उपस्थित रहेको र एकताको समयसम्म सो संख्या बढ्ने दाबि गरिएको छ । थापालाई कारवाही गर्दै बैद्य थापा र प्रचण्डका बीचमा भएको १२ बुंदे सहमतिले बैद्यबिनाकै एकताको प्रष्ट तस्विर देखाइसकेको छ । तरपनि, थापा र प्रचण्ड दुबै सकेसम्म बैद्यलाई मनाउने प्रयासमा रहेका छन् । दुई पक्ष मिलेर १२ बुंदे सहमति गरिसकेको सन्र्दभमा बैद्य एकतामा जाने सम्भावना देखिदैन । बैद्यले २ गते डांकेको केन्द्रीय समिति बैठकमार्फत थापा पक्षधरलाई कारवाही गर्ने बताइएको छ ।

त्यसो भएमा अध्यक्ष अल्पमतमा परेको तथा अल्पमतले बहुमतलाई कारवाही गरेको घटना हुनेछ । को के बन्दै ?  बैद्यसहित की बैद्यरहित भन्ने एकीन नभइ पदको छिनोफानो हुने स्थिति छैन । स्रोतका अनुसार शीर्ष तहमा मुख्य नेताहरुको पद विभाजन मोटामोटीरुपमा भएको छ । प्रचण्ड अध्यक्ष रहनेछन् । उपाध्यक्षमा रामबहादुर थापा थपिनेछन् । महासचिवमा कृष्णबहादुर महरा वा देब गुरुङ रहेनछन् । गुरुङ उपाध्यक्ष र महरा महासचिव महरा बन्ने सम्भावना अधिक छ । गुरुङले एकताका लागि आफु लचिलो रहेको भन्दै लाजिम्पाटलाई सहज बनाइदिएको बताइन्छ । एकतापछि पम्फा भुसाल सचिव हुने निश्चित छ । जयपुरी घर्तीपनि माओवादीमा फर्केमा माओवादीभित्र महिला नेतृत्वको संकट टर्नेछ । रोचक प्रसंग  माओवादीमा प्रचण्ड र थापाको सहकार्य र एकता निकै रोमाञ्चक छ । माओवादी जनयुद्धपुर्व यि दुईको सहकार्य जोडदार थियो ।

युद्ध शुरु भएलगत्तै थापा माथि यौन काण्डमा कारवाही गरियो । माओको नजिक रहेर माओकै विरुद्ध षडयन्त्र गर्ने लिनप्याओसंग थापालाई तुलना गरियो । केही समयपछि कारवाही फुकुवा भयो । केही वर्ष मित्रता रहरलाग्दो बन्यो । फेरी टकराव आयो । २०६१ सम्म आइपुग्दा प्रचण्डमा विलय भएको घोषणा गरे थापाले । प्रचण्ड नेतृत्वको सरकार विस्तापित भएपछि टकराव बढ्यो । थापाले संज्ञा प्रचण्डलाई प्रतिक्रियावादीको संज्ञा दिए । ठीक तीन वर्षपछि प्रचण्ड र थापा फेरि जोडिए ।

मोहनविक्रम पथमा मोहन बैद्य माओवादीहरुले प्रयोग गर्ने एउटा रमाइलो थेगो हो ः मोहनविक्रम पथ । अरुको आलोचनामात्र गर्ने, क्रान्तिको कुरा गर्ने तर केही नगर्ने प्रवृत्तिलाई मोहनविक्रम पथ भनिन्छ । खाशमा यो पदावली मोहनविक्रम सिंहबाट आएको हो । माओवादी आन्दोलनका सबै नेताका गुरु मोहनविक्रम सिंह हुन् । ३० र ४० को दशकमा उनी मसालका मियो थियो । तर, उनी खिइदै गए । थापा पक्षका एक केन्द्रीय नेताका अनुसार बैद्य अब सिंहझैं सिमित घेरामा हुनेछन् । बैद्यले प्रष्ट भनेका छन्, ‘झुक्न भन्दा टुट्न ठीक, सुनिएर ठूलो हुनुभन्दा ख्याउटेनै बेश ।’

माओवादी दुई ध्रुब माओवादीका दुई ध्रुब हुने भएका छन् । एउटा ध्रुबको नेतृत्व प्रचण्डले गर्नेछन् । अर्को ध्रुबको नेतृत्व लिन नेत्रबिक्रम चन्द तम्तयार छन् । बैद्यको गतिशिलता र नेतृत्वभन्दा निष्ठा भोलिका दिनमा स्मरणिय रहनेछ । बैद्यको एउटा सानो टिमबाहेकका सदस्यहरु भोलिका दिनमा प्रचण्ड र चन्दको वरपर संगठित हुंदै जाने देखिन्छ ।

प्रचण्डको बढ्यो साख पहिलो नम्बर पार्टी नराम्रोसंग तेस्रोमा झर्यो। अभिभावक बैद्यले छोडेर गए । सहकर्मी थापाले साथ दिएनन् । आफ्नै सचिवालयमा रहेका चन्दले विश्वास गरेनन् । शान्ति प्रक्रियामा एउटै बस्त्रलगाएर काठमाडौंमा अवतरण गरेका डाक्टर बाबुराम भट्टराईसमेत संगै रहन मानेनन् । प्रचण्डसंग पार्टीमा सहकर्मी कोही थिएनन् । समकालिन सबैले अविश्वास गरेका एक्लो नेता थिए उनी । अब थापा नै भित्रिएपछि उनको साख बढेको छ ।

माओवादी फुटको संघारमा

विशेष