News

वास्तविकता बुझ्न प्रधानमन्त्री ओलीको आग्रह

वास्तविकता बुझ्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, २९ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई मुलुकको अवस्थाका बारेमा द्विविधामा नपरी वास्तविकता बुझ्न आग्रह गर्नुभएको छ ।

 यहाँस्थित कूटनीतिक तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि समक्ष मुलुकको समसामयिक अवस्थाका बारेमा जानकारी गराउन आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानप्रति असन्तुष्ट दललाई वार्ताका लागि आह्वान गरेको र जायज माग सम्बोधन गर्न सरकार सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– “लोकतन्त्र र मानवाधिकारप्रति हामी पूर्ण प्रतिबद्ध छौँ, यो अवस्थामा मुलुकको वास्तविक अवस्था, भावना र हाम्रा प्रयत्नका बारेमा स्पष्ट हुन आग्रह गर्दछु ।” उहाँले कूटनीतिक निकायका प्रतिनिधिलाई कुनै द्विविधामा नपर्न आग्रहसमेत गर्नुभयो ।

उहाँले लामो समयदेखि रिक्त स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा अपेक्षाअनुसारको विकास निर्माण हुन नसकेको बताउँदै सङ्घीयताअनुसारका स्थानीय निकायको पुनःसंरचना तयार नहुन्जेलसम्म आगामी मङ्सिरमा अन्तरिम स्थानीय निकायको निर्वाचन गरिने जानकारी गराउनुभयो । भूकम्पले पु¥याएको क्षतिका बारेमा जानकारी गराउँदै उहाँले पुनःनिर्माणमा सरकारको सम्पूर्ण प्रयत्न रहेको उल्लेख गर्नुभयो । वर्षायामअघि नै भूकम्प प्रभावित जनतालाई छानामुनि ल्याउनु अपरिहार्य रहेको बताउँदै उहाँले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन भई काम सुरु भइसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “यसमा हामीलाई सबैको सहयोगको आवश्यकता छ ।” प्रधानमन्त्री ओलीले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणको चुनौती रहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले भूकम्पपछिको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय दातृ निकायबाट भएको सहयोगको उपयोग र परिचालनका बारेमा जानकारी गराउनुभयो । उपप्रधानमन्त्री थापाले नेपालको संविधान समावेशी भएन भन्ने भनाई भ्रममात्र हो भन्दै संविधान पूर्ण लोकतान्त्रिक, प्रगतिशिल र लचकदार हुनुका साथै कसैलाई पक्षपात नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले मुलुक सङ्क्रमणकालीन न्यायबाट गुज्रिरहेको र शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन बिस्तृत शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोग गठन भई काम गरिरहेको जानकारी गराउनुभयो । उपप्रधानमन्त्री थापाले सङ्क्रमणकालीन न्यायका नाममा शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन मानवाधिकारलाई कम आकलन नगरिने स्पष्ट पार्नुभयो । कार्यक्रममा परराष्ट्र सचिव शंकरदास वैरागीले कार्यक्रमका सहभागीलाई स्वागत गर्दै सरकारका गतिविधि र विदेश सम्बन्धका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, कुटनीतिक निकायका प्रमुख एवम् प्रतिनिधि तथा सरकारका उच्च अधिकारीलगायतको उपस्थिति थियो । रासस

विशेष