‘अहिले सरकार बदल्ने बेला होइन’– उपप्रधानमन्त्री मैनाली
काठमाडौँ, २९ वैशाख
उपप्रधान तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले नाकाबन्दीपछिको समस्या समाधान, मधेसी समुदायको माग सम्बोधन र संविधान कार्यान्वयनलगायतका काम अझै बाँकी रहेको हुँदा वर्तमान सरकार बदल्नु उचित नहुने बताउनुभएको छ ।
“नाकाबन्दी खुलेपछि समस्या समाधान भएको जस्तो देखिए पनि त्यसको दीर्घकालीन समाधान अझै हुन सकेको छैन, त्यसको समाधान नभएसम्म वर्तमान सरकारको विकल्प खोजिनु हुँदैन”– उहाँले भन्नुभयो ।
रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उपप्रधानमन्त्री मैनालीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनेबारे सत्तारुढ दलबीच अनौपचारिक रूपमा भद्र सहमति भएको स्पष्ट पार्नुभयो ।
“कुनै पनि विदेशी हस्तक्षेप हामी मान्दैनौँ नेपाल स्वतन्त्र र अटल छ”– उहाँले भन्नुभयो । उहाँले आन्दोलनभन्दा पनि वार्ता र सहमतिबाट समस्याको समाधान खोज्न मधेसवादी दलसँग आग्रह गर्नुभयो ।
नेकपा माले का महासचिवसमेत रहनुभएका मैनालीले आफ्नो पार्टीको हालै सम्पन्न महाधिवेशनले माक्र्सवादसँगै नेपाल चिन्तनको सिद्धान्तलाई अगाडि सारेको स्पष्ट पार्नुभयो । उहाँले विचार मिलेका खण्डमा जो कोही वामपन्थी शक्तिसँग एकता हुनसक्नेसमेत स्पष्ट पार्नुभयो । रासस