ओलीले आफुजस्तै मृगौला पीडितका पक्षमा निर्णय गरे, अब डायलासिस निशुल्क
मृगौला रोगबाट लामो समयदेखि ग्रसित प्रधानमन्त्री केपी ओलीले डायलासिस (रगत शुद्धकरण गर्ने कृत्रिम बिधि) निशुल्क बनाउने निर्णय गरेका छन् । मृगौलाको कार्यक्षमता कमजोर हुंदा शरीरको विषाक्त पदार्थ पिसाबबाट बाहिर निस्किन पाउंदैन । यस्तो अवश्थामा मेसिनको सहयोगले रगत सफा गर्नुपर्ने हुन्छ । यसैलाई डायलासिस भनिन्छ । यो खर्चिलो हुन्छ र आर्थिक अभावमा धेरैले डायलासिक गर्दैनन् । अब भने सरकारले नै डायालासिसको व्यभार बेहोर्नेछ ।
सरकारले दुबै मृगौला फेल भएका बिरामीलाई डायालासिसमा यसअघिपनि संघाउंदै आएको थियो । तर प्रयाप्त थिएन । केपी ओली प्रधानमन्त्री भएपछि सरोकारवालाले उनीमाथि भावनात्मकरुपमा दबाब दिए । किनकी उनी आफैं मृगौला पीडित हुन् । उनको उपचारमा राज्यले लाखौं खर्च व्योहोरिसकेको छ । ओलीको भने मृगौला प्रत्यारोपण गरिएको हो ।
सरकारले मृगौला रोगीलाई डायलासिस सेवा निशुल्क गर्ने घोषणा गरेको छ । सरकारले कार्यविधि बनाएर निशुल्क सेवा शुरु गर्नेछ ।
मृगौला रोगीले डायलासिस गराउनुपर्छ । यसका लागि लाखौं खर्च हुन्छ । आर्थिक स्रोत कमजोर भएका व्यक्तिका लागि डायलासिस असम्भवजस्तै थियो । अहिलेकै हिसाव गर्दापनि एक जनालाई १० बर्षसम्म डायलासिस गर्न कम्तिमा २६ लाख खर्च हुन्छ ।
डायलासिस निशुल्क गर्ने सरकारी निर्णयलाई पीडित र चिकित्सकले उत्साहका साथ हेरेका छन् । आर्थिक अभावमा डायलासिस गर्न नपाएकाहरुले यो निर्णयसंगै जीबनदान पाउने बताइएको छ । मृगौला रोग जोसुकैलाई लाग्न सक्छ । प्रत्येक १० जना मध्ये एकजनालाई कुनै न कुनै किसिमको मृगौला रोग लागेको हुन्छ । नेपालमा बर्षेनी ३ हजार जनाको मृगौला फेल हुने गरेको छ । डायलासिस गर्नेको संख्या भने कम छ । १ हजार २ जनाले डायालसिस गराइरहेका छन् । सरकारले यसअघिपनि दुबै मृगौला फेल भएका पीडितका लागि दुई बर्षमा दुई सय आठ पटकसम्म डायलसिस गर्न सहयोग गर्दै आएको थियो ।
अस्पतालको क्षमता वृद्धि गर
डायलासिस निशुल्क भएपछि डायलासिस गर्ने बिरामीको संख्या बढ्नेछ । अहिले डायलासिस गराइरहेका बिरामी त छंदैछन् । यस्तोमा सरकारले सेवा दिने भनेपनि बिरामीलाई सेवा लिन गाहे पर्छ । देशैभरि डायलासिस सेवा छैन । डायलासिस निशुल्क भएपनि उपचारमा आउनजानै बढी खर्च हुने देखिन्छ । बिकल्प एउटै हो ः देशैभरि डायलासिस सेवा बृद्धि गर्ने ।
जोड प्रत्यारोपणमा
डायलासिस संवेदनशील विधि हो । यो जीबन धान्ने उपायमात्र हो । जीबनलाई गतिशिल बनाउन प्रत्यारोपणमा जोड दिनुपर्ने मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठको सुझाव छ । एउटा व्यक्तिले अर्को व्यक्तिलाई मृगौला दिने विधि प्रत्यारोपण हो । मानिसका सामान्यतया दुईवटा मृगौला हुन्छन् । स्वश्थ मानिसको एउटा मृगौला काफी हुन्छ । अर्को दान दिन सकिन्छ । प्रधानमन्त्री ओली स्वंयको पनि मृगौला प्रत्यारोपण गरिएको हो । मृगौला प्रत्यारोपण गरिएको व्यक्ति सामान्य अवश्थामा फर्कन सक्छ । प्रधानमन्त्री ओलीको फुर्तीफार्तीले यसको पुष्टि गर्छ ।