हिजो गगनलाई मन फुकाएर माया गरियो, आज आंखा चिम्लिएर आलोचना गरिदैछ । गगन सिद्धिदा गगनकै शब्दमा व्यक्ति सकिने होइन, युवा नेतृत्वप्रतिको आशा सकिने हो । गगनप्रतिको आशा व्यक्तिमाथिको अपेक्षा होइन, पुस्तामाथिको हो ।
२०६२÷०६३ सालको आन्दोलनले जन्माएका राजनीतिक फिगर हुन् गगन थापा । कांग्रेस गणतन्त्रमा हाम नफाल्दै थापाले गणतन्त्रको नारा रत्नपार्कमा लगाउन शुरु गरिसकेका थिए । त्यतिबेला रोल्पामा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड भुमिगत शैलीमा अखिल क्रान्तिकारीलाई प्रशिक्षण दिंदै थिए । त्यहीं उनले भनेका थिए, ‘हाम्रो नारा क्रान्तिकारीले मात्र उठाउने छैन, नेविसंघले पनि उठाउंछ । गगनहरुले काठमाडौंमा जे गरेका छन् त्यो हाम्रै नारा हो ।’
भुमिगत प्रचण्डलाई समेत प्रभावित पारेका थिए गगनले । वाकपटुताका धनी गगनलाई नयां शक्तिमा ल्याउन डाक्टर बाबुराम भट्टराईले समेत हरसम्भव प्रयास गरेकै हुन् । विपक्षीका लागि समेत लोभलाग्दो बनेका गगन पछिल्लो समय आफ्नै पार्टीभित्रसमेत आलोचित छन् ।
जनआंकाक्षा बढी
केही बर्षअघिसम्म गगनमा देश बदल्ने जांदु रहेको झैं गरी आमपंक्तिमा अपेक्षा बढ्यो । व्यक्तिले परिवर्तनको नेतृत्वमात्र गर्न सक्छ, पद्धतिबिना व्यक्तिविशेषलेमात्र केही गर्न सक्दैन भन्ने बुझाउन गगनले ढिला गरिसकेका थिए । गगन विद्यार्थी राजनीतिमा हुंदा जति उस्ताद रहे, संसदभित्र निष्प्रभावीजस्तै । ‘सडकमा नियम हुंदैन । संसदमा नियम हुन्छ । सडकमा नियम तोड्दा नेता भइन्छ । संसदमा समन्वयको आवश्यकता पर्दछ । त्यसैले मैले गरेको काम जनताले बुझ्न समय लागेको हो । सडकको झ्याप्पै देखिन्थ्यो ।’ गगनले पटकपटक प्रष्टाउने गरेका छन् ।
जनआंकाक्षालाई गगनले राम्रैसंग बुझेका थिए । केही फरक नगरेमा आफ्नो लोकप्रियता घट्ने निश्चित देखिसकेका गगनले जोखिम मोले महामन्त्रीको उम्मेदवार बनेर । सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य बनेपनि भुमिका केही निर्वाह गर्न नसकेको उनले अनुभव गरिसकेका थिए । ‘कांग्रेस संरचनाभित्र केही गर्न यात बुढो हुनुपर्दोरहेछ यात महत्वपूर्ण पदमा, त्यसैले युवा पुस्ताको प्रतिनिधिका हैसियतमा म परीषामा बस्न चाहन्छु । पास भए काम गर्छु । फेल भए नतिजा बेहोर्छु ।’ गगनले उम्मेदवारी किन भन्ने सवालमा प्रष्टिकरण दिएका थिए ।
गगन कृष्ण सिटौला प्यानबाट उम्मेदवार बने । सिटौलाको भारतसंग निकट सम्बन्ध रहेको कुरा राजनीतिकवृत्तमा छिपेको छैन । शेरबहादुर देउवालाई सभापति र सशांक कोइरालालाई महामन्त्री बनाउन सिटौला र थापा टिम बनाइएको चर्चाले गगनको तेजोबध गर्न काफी काम ग¥यो । नेपाल हल्लैहल्लाको देश हो । हल्लाको पुष्टि नहुंदै सानेपामा नारा लागिसकेको थियो, ‘ भारतीय ऐजेन्ट गगन कहां छ ? सशांक कोइराला यहां छ ।’
सो आरोपप्रति रुष्ट रहेका गगनले पुष्टि गर्न सार्वजनिक चुनौति दिए । आफु आरोपले खियांउन नसक्ने इस्पातजस्तो भन्ने उनको भनाइलाई खाशै सुनिएन । कांग्रेसभित्रै गगनलाई भविश्यको तरबारका रुपमा हेर्न थालियो । उनलाई सिद्धाउन कांग्रेसभित्रकै शक्ति लागिपरेकोमा दुई मत छैन ।
दुस्साहसी गगन
गगन दुस्साहसी हुन् भन्नेमा दुईमत छैन । ठिटोले महामन्त्रीमा उम्मेदवारी दिने कुरा हिजोसम्म कांग्रेसमा सम्भव थिएन । तर, गगनले पराजय नै सही, उम्मेदवारी दिएर राजनीतिमा तरंग पैदा गरिदिए । कथमकदाचित उनले जितेको भए कांग्रेसको बेग बेग्लै हुन्थ्यो । तर, कांग्रेसजनलाई बेगवान कांग्रेस मन्जुर भएन ।
गिरिजाप्रसाद कोइरालाका सामु आंखा जुंधाएर बोल्ने साहस कमै कांग्रेसीको थियो । गगनले गिरिजासंग मुद्धामा टक्कर लिए । कोइराला बेबी किङसम्म भएपनि राख्नेकी भनेर सोच्दैथिए, गगनहरुले सडकबाटै हुंदैन भनिदिए । गगनलाई गिरिजाले दरबारियासम्म भन्न भ्याएका थिए । सितिमिति अरुका बारेमा टिप्पणी नगर्ने गिरिजाका लागि गगनका सम्बन्धमा बोल्नैपर्ने गरी राजनीतिमा आंधी आइसकेको थियो । गगन गिरिजाकै कार्यकालमा मनोनित सभासद बन्न सफल भए ।
गगनले आफ्नै परिवारसंग प्रतिष्पर्धा गर्न पछि परेनन् । एकसाथ विपी पुत्र र आफ्नै ससुराकासाथ प्रतिष्प्रर्धा गर्ने हिम्मत सायदै गगनबाहेक अरु कसैसंग होला । धेरैले गगन र ससुरा अर्जुननरसिंह केसीका बीचमा सांठगांठ रहेको टिप्पणी गरे । तर, परिश्थिति बेग्लै थियो । अर्जुनरसिंह केसीले एक टेलिभिजन अन्र्तवार्तामा गगनबिरुद्ध कडा अभिव्यक्ति दिएका थिए,‘ शारीरिक आत्महत्या भएको भए बचाउन प्रयास गर्थे, राजनीतिक आत्महत्या गर्न लागेकाले केही गर्न सकिएन ।’ यो हदसम्मको कटु आलोचना हुंने गरी गगन–अर्जुन फाटिसकेका थिए ।
गगनका कमजोरी
गगनको राष्ट्रिय छबि बनाउन मूलधारका मिडियाको महत्वपूर्ण योगदान छ । गगनभन्दा तेजबाणी र तार्किक क्षमता भएका युवा कांग्रेसमा नभएका होइनन् । तर, उनीहरु सायदै समाचार बने । संचारको दुनियालाई क्यास गर्न गगन सफल भए । तेह्रौं, महाधिवेशनमा भने मिडियाले उनलाई उतिसारो बोकेनन् । कारण, मिडिया विपीको लिगेसीप्रति अनुदार हुन सकेन । मियोलाई छोडेर बियो खोज्न को जाओस् ? मार यहीं पर्यो । तर, यो नै प्रमुख कारण होइन ।
राजनीतिक विश्लेषक सुरेन्द्र केसीका अनुसार गगनका कमजोरी खोज्न सबैभन्दा बढी कांग्रेसजन नै सक्रिय थिए । साइत जु¥यो घैंटे प्रकरण । भोलिको नेपालको जिम्मा लेलान् भनि आशा गरिएका गगन गुण्डाको संरक्षणमा लागेको भनिएको सन्र्दभ उनका लागि सबैभन्दा आत्मघाती भयो । उनले सो प्रकरणमा प्रष्ट हुन सकेनन् । ढिला गरी दिइएको प्रष्टिकरणले पुगेन । गगनको नजिक रहेका र माया गर्नेहरुले अहिलेपनि चिन्ता गर्छन, ‘रक्सी र चुल्ठेमुन्द्रेको संगत छुटाउन सकिएन ।’
गगनको अबको बाटो
गगनले पटकपटक भनेका छन्,‘मलाई कांग्रेसले मात्र बनाएको होइन्, कांग्रेसइतका जनले पनि बनाएका हुन् ।’ उनलाई संविधानसभामा प्राप्त मत, उनका पक्षमा अनलाइन भोटिङमा देखिने लहर, उनको भाषण सुन्न उर्लने जनसागरले उनको दाबीलाई पुष्टि गर्छ । तर पछिल्लो समय परिश्थिति फरक छ । सामजिक संजालमा उनको बढी नै आलोचना हुने गरेको छ ।
समाज सधैं सालिन हुंदैन । त्यसमाथि हाम्रो समाज झनै असन्तुलित छ । माया गर्दापनि अति गर्ने गाली गर्दापनि खति हुने गरी गर्ने । हिजो गगनलाई मन फुकाएर माया गरियो, आज आंखा चिम्लिएर आलोचना गरिदैछ । गगन सिद्धिदा गगनकै शब्दमा व्यक्ति सकिने होइन, युवा नेतृत्वप्रतिको आशा सकिने हो । गगनप्रतिको आशा व्यक्तिमाथिको अपेक्षा होइन, पुस्तामाथिको हो । तसर्थ, आफुलाई सिद्धाउने खेल गगनले बुझेको बताइसकेका छन् । सो खेल चिर्न के गर्नुपर्छ ? गगनले गरिहाल्नुपर्छ ।