चिनले दियाे उपराष्ट्रपति पुनलाई भ्रमणको निम्तो
काठमाडौँ ३१,बैशाख
चीनले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई चीन भ्रमणको निम्तो दिएको छ । शुक्रबार युनान प्रान्त जनकांग्रेसका स्थायी समिति उपप्रमुख चाङ पायरु नेतृत्वको प्रतिनिधि मण्डलले उपराष्ट्रपतिसँग भेट गरी चीन भ्रमणको निम्तो दिएका हुन् ।
उपराष्ट्रपतिको सचिवालयले जुन १२ देखि १७ सम्म युनान प्रान्तको कुन्मिङ सहरमा हुने सम्मेलनमा विशिष्ट अतिथिको रुपमा उपस्थित हुन निम्तो दिएको जानकारी दिएको छ ।
चीनियाँ टोलीले शुक्रबार उपराष्ट्रपतिसँग बहादुर भवनमा भेट गरेर ‘चौथो चीन–दक्षिण एशिया व्यापार मेला तथा २४ औँ चीन कुन्मिङ आयात निर्यात व्यापार मेला’को उद्घाटन समारहेमा उपस्थित हुन निम्तो दिएको हो ।
निम्तो दिन बहादुरभवन पुगेका चिनियाँ टोलीलाई उपराष्ट्रपतिले धन्यवाद दिदै कार्यक्रममा सहभागी हुन सकारात्मक रहेको जवाफ दिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
उपराष्ट्रपति पुनले नेपाल र चीनको सम्बन्ध प्रगाढ बन्दै गएको र दुईपक्षीय उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ सुध्रिने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपतिसँगको भेटवार्तामा चिनियाँ राजदूत ऊ चुन्ताइ, युनान प्रान्तका सरकारी अधिकारी सहभागी थिए भने नेपालको तर्फबाट उपराष्ट्रपतिका स्वकीय सचिव सुकबहादुर रोकासँगै परराष्ट्र मन्त्रालयका प्रतिनिधि उपस्थित थिए ।
चिनियाँ टोलीले भ्रमणको निम्तो दिए पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र उपराष्ट्रपतिको चीन भ्रमण तय हुने छ ।