माओवादी एकता भएमा सरकारबाट बाहिरिन्छु– अध्यक्ष दाहाल
काठमाडौँ, ३१ वैशाख । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीबीच तत्काल पार्टी एकता हुने भएमा तत्काल सरकारबाट बाहिरिने बताउनुभएको छ । “दुई माओवादी एकता हुने हो भने सरकार छोड्नु मेरा लागि कुनै ठूलो कुरा होइन, केही समयअघि झन्डै छाडेको थिएँ, सरकार छोड्नु कुनै आइतबारको कुरा होइन”– उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले पार्टी एकता हुनका लागि सरकार बाधक हुने भए आफँैले तत्काल सरकार छोड्न तयार रहेको तर उहाँको मुद्दा सरकारको होइन विचारको मुद्दा भएको बताउनुभयो ।
पाँच दलीय संयुक्त समितिले आज यहाँ आयोजना गरेको ‘बृहत् शान्ति सम्झौता र युद्धकालीन मुद्दा’ विषयक अन्तक्र्रियामा उहाँले माओवादीको एकता जरुरी भएको र त्यसका लागि आफू सदा तयार छु भन्नुभयो ।
अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौताको विपरीत युद्धकालीन मुद्दालाई उठाइन्छ र अदालतको नियमित प्रक्रियाभित्र लगिन्छ भने सबैभन्दा पहिला आफूलाई जेल हाल्न चुनौती दिनुभयो । दशवर्षे युद्धपछि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता र सम्झौता गर्ने बेलामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भएको भन्दै उहाँले भन्नुभयो– “विस्तृत शान्ति सम्झौता गर्दा हुनुभएका गिरिजाको ठाउँमा अहिले शेरबहादुर देउवा हुनुहुन्छ, अदालतले न्याय गर्ने हो भने शेरबहादुर देउवा र प्रचण्डलाई जेल हाल्नुप¥यो ।”
उहाँले शान्ति सम्झौता पालना नगरी अरुलाई मुद्दा लगाउने, जेल हाल्ने भयानक षड्यन्त्र र प्रहार भएको र त्यो कार्य रोकिनुपर्नेमा जोड दिनुभयो । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादी सरकारमा नबस्ने हो भने पार्टी एकता हुन सक्ने बताउनुभयो ।
अध्यक्ष वैद्यले भन्नुभयो– “सरकारमा नबस्नुस्, एकता हुन्छ, नयाँ ढङ्गले अगाडि बढौँ, जनताको चाहना पूरा गरौँ ।” उहाँले माओवादीबीच पार्टी एकता भई गम्भीर ढङ्गले छलफल गरेर अघि बढनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा पूर्वराजदूत विजयकान्त कर्ण, नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष खिलबहादुर भण्डारी, नागरिक समाजका अगुवा वीरेन्द्र मिश्र, डा सुन्दरमणि दीक्षित, मल्ल के सुन्दर, मानवअधिकारकर्मी चरण प्रसार्इंलगायतले द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिको हालसम्म पनि सार्वजनिक हुन नसक्नु दुःखद भएको धारणा राख्नुभएको थियो ।