बिद्या राष्ट्रपति भइन, केपी प्रधानमन्त्री भए तर मदन भण्डारी हत्याकाण्डको छानबिन किन हुंदैन ?
मदन भण्डारी युगयुगसम्म बांच्ने बिरलै नेपाली नेतामा पर्दछन् । सानै उमेरमा नेकपा एमालेको महासचिव बन्न सफल भएका मदनले नेपालमा कम्युनिष्ट उभार ल्याउन सफल भए । उनको आक्रामक भाषण यति शक्तिशाली थियो कि मानिसहरु एक टक लगाएर सुन्थे । पूरै मैदानमा तालीको बर्षा हुन्थ्यो । हुटिङ त कति हो कति । तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संसदीय निर्वाचनमा पराजित गरेपछि मदनले अन्तराष्ट्रिय चर्चा बटुले । सार्वजनिक राजनीति गरेको ३ बर्षमै उनी दुनियांले चिन्ने र आशा गर्ने मदन भइसकेका थिए । उनै प्रिय मदनलाई नेपाली राजनीतिले लामो समय पाउन सकेन । २०५० साल जेठ ३ गते काठमाडौं आउंदै गर्दा चितवनको दासढुंगामा मदनको जिप दुर्घटनामा पर्यो । मदनसंग एमालेका संगठन विभाग प्रमुख जिबराज आश्रितपनि मारिए । एमालेले मदनआश्रितको हत्या भएको भन्दै छानबिनका लागि शसक्त आन्दोलन गर्यो । आन्दोलनले केहीको ज्यान लियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हायलकायल भए । एमालेले शोकलाई शक्तिमा बदल्ने नारा बुलन्द पार्यो ।
०५१ मा भएको मध्यावधि निर्वाचनमा एमाले पहिलो पाटी बन्न सफल भयो । पहिलो कम्युनिष्ट सरकार बन्यो । प्रधानमन्त्री बने मनमोहन अधिकारी, गृहमन्त्री बने केपी ओली । एमालेले शोकलाई वास्तबमै शक्तिमा बदलिदिएको थियो । सरकार बन्यो तर, सरकारले मदनको हत्या छानबिन गर्ने छांट निकालेन । सरकारबाट हटिसकेपछि एमालेले प्रष्टिकरण दियो–९ महिनामै सरकार हट्यो । सोच्दासोच्दै सरकार गयो । त्यसयताका प्रायजसो सरकारमा एमाले सहभागी छ । मदनको उत्तराधिकारी दाबि गर्ने बामदेब गौतम तीनपटकसम्म उपप्रधान र गृहमन्त्री भए । बहादुर बामदेबलाई केले रोक्यो कुन्नी, मदन भण्डारीको हत्या छानबिन गर्ने सुरसार कहिल्यै देखाएनन् । माधबकुमार नेपालको नेतृत्वमा मदनको हत्या छानबिनको माग गर्दै आन्दोलन भएको थियो । जुन आन्दोलनमा हजारौं व्यक्ति सडकमा निस्किएका थिए । केहीले ज्यान दिएका थिए । माधबलाई नेतृत्वमा स्थापित गर्न सो आन्दोलन निर्णायक बन्यो । तर, प्रधानमन्त्री हुंदा माधबले मदनको हत्या भएको सायद भुलिसकेका थिए । हत्याको छानबिनका बारेमा काइकुंइ केही गरेनन् ।
०५४ सालमा एमालेको छैठौं महाधिवेशन हुंदै थियो नेपालगंजमा । केपी ओली र विद्या भण्डारी एउटै गाडीमा महाधिवेशन हलबाट बाहिरिएका के थिए बामदेब गौतम पक्षधरका नेताकार्यकर्ताले अनेक हल्ला फिंजाए । दुनियांको जस्तै टिप्पणीले पनि केपी र विद्याको मित्रतामा ब्रेक लगाएन । केपीलाई पार्टी अध्यक्ष बनाउन बिद्याले भएभरको बल लगाइन् । मदनले प्रतिपादन गरेको जनताको बहुदलिय जनबाद ध्वस्त पार्ने षडयन्त्र गरिएको सनसनीपूर्ण अभिव्यत्ति विद्याले दिइन् । विद्याले मदनको उत्तराधिकारीका रुपमा केपीलाई प्रस्तुत गरिन् । बिद्यासंग मदनको नाम जोडिएको थियो । विद्या नै केपीको कित्तामा उभिएपछि कार्यकर्ताको मनोविज्ञानलाई प्रभावित गर्ने नै भयो । केपी अध्यक्ष निर्वाचित भए । गम्भीर प्रकृतिकी विद्याको मुहारमा विजयको भाव छचल्कियो ।
बिद्यालाई राजनीतिका हरेक घुम्तीमा केपीले सघांउदै आएका थिए । केपीको निरन्तरको साथ नहुंदो हो त बिद्याको राजनीतिक उचांइ आजको स्थानमा आइपुग्न सायदै सम्भव थियो । केपी अध्यक्ष नहुंदा हुन् त बिद्याले राष्ट्रपतिमा निर्वाचित हुने अवसर सायदै पाउंथिन् । राष्ट्रपति निर्वाचित भएलगत्तै उनी बल्खुस्थित एमाले कार्यालयको प्राङ्गढमा पुगिन् । आफ्ना जीबनसाथी स्वर्गीय मदनप्रति पुष्पागुच्छा अर्पण गरिन् । नेपालको राजनीतिक इतिहासकै लोभलाग्दो भावनात्मक क्षण थियो त्यो । मदनको आत्मा अहिले सिंहदरबार र सितलनिवास वरपर नांचिरहेको होला । देशका दुई शक्तिशाली मुकाममा उनका राजनीतिक उत्तराधिकारी केपी र जीबनसाथी बिद्याको बास छ । सायद मदनलाई आशा छः यि दुईले चाहे भने आफ्नो हत्याका बारेमा दुधको दुध पानीको पानी छुट्टाइदिन सक्छन् । मदनको आत्मालाई योपनि थाहा छ : अहिले छानबिन भएन भने आफ्नो हत्याका बारेमा कहिल्यै छानबिन हुने छैन । किनकी शितलनिवास र सिंहदरबारबीचमा यो स्तरको भावनात्मक समझदारी सायदै कहिल्यै होला । यसअघिका राष्ट्रपतिको सिंहदरबारसंग खटपट परेको मदनको आत्माले विर्सिसकेको छैन । जेठ ३ मा, मदनको श्रद्धान्जलीमा प्रधानमन्त्री र राष्ट्रपतिका हैसियतमा केपी र विद्या दुबैले केही न केही बोल्ने छन् । यि दुबैका लागि जेठ ३ तत्तत् पदमा पुगेपछि पहिलो पल्ट आएको छ । तर, एमाले कार्यकर्ता र देशबासी जेठ ३ मा शाब्दिक स्मरण होइन, मदनआश्रित हत्याको छानबिनका लागि शक्तिशाली आयोग चाहन्छन् । राष्ट्रपति र प्रधानमन्त्रीका रुपमा बिद्या र केपीको मदनप्रतिको सच्चा श्रद्धान्जली यही हुनेछ ।