निजामती कर्मचारीको आधिकारिक ट्रड युनियको चुनाव सुरु ५५ हजार कर्मचारी मतदान गर्दै
काठमाडौं १९ जेठ । निजामती कर्मचारीको आधिकारिक ट्रड युनियको चुनाव विहान ९ बजेबाट सुरु भएको छ ।
मतदान बेलुका ४ बजे सम्म चल्ने छ । समानुपातिक पद्धतिका आधारमा हुने निर्वाचनमा अधिकृत र त्यो भन्दा तल्लो तहका करिव ५५ हजार कर्मचारीले मतदान गर्दैछन् । तर कार्यालय प्रमुख भएका अधिकृतले पनि भाग लिन पाउने छैनन् । १ सय १७ वटा निकायका १२९ मतदान केन्द्रमा हुने निर्वाचनमा कर्मचारी र सुरक्षाकर्मी गरी २८ सय जनशक्ति खटिनेछ ।
निर्वाचनका लागि सातवटा कर्मचारी संगठनले उमेद्वारी दर्ता गराएका छन् । जसमा नेपाली कांग्रेस निकटको नेपाल निजामती कर्मचारी युनियन संघ, एमाले निकटको नेपाल निजामती कर्मचारी संगठन, एमाओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती त्यस्तै मधेशी दलहरु निकटको नेपाल मधेशी निजामती कर्मचारी मञ्च र मोहन बैद्य समूहको माओवादी निकटको राष्ट्रिय कर्मचारी संगठन छन् ।
निर्वाचनका लागि सरकारले केन्द्रिय स्तरमा सह–न्यायाधिवक्ता गिताप्रसाद तिमिल्सिनालाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ भने विभागिय तहमा सम्बन्धित निकायको कानून अधिकृत र जिल्ला तहमा सरकारी वकिलको कार्यालयका प्रमुख नै निर्वाचन अधिकृत हुनेछन् । मतदाताले दिएको एउटै मतलाई केन्द्र र विभागिय वा जिल्ला तहका लागि गणना गरिनेछ । मतपरिणामपछि सम्बन्धित संगठनले तह अनुसार नै पदाधिकारीको नाम सिफारिस गर्नेछन् । निजामती सेवा नियमावलीको व्यवस्था अनुसार, मतदाताले कुनै एक संगठनलाई मत दिनेछन् । प्राप्त मतका आधारमा केन्द्रिय, विभागिय र जिल्ला कार्य समिती गठन हुनेछ ।
सरकारले १ केन्द्रिय, ४२ वटा विभागिय र ७५ वटा जिल्ला कार्यसमितीको निर्वाचन गर्न लागेको हो । प्राप्त मतका आधारमा पहिलो हुने संगठनले केन्द्रिय कार्यसमितीमा अध्यक्ष र कोषाध्यक्ष पाउनेछ । दोस्रोले महासचिव, तेस्रोले उपाध्यक्ष र चौथोले सचिव पद पाउनेछ । १६ जना केन्द्रिय सदस्यका लागि भने प्राप्त मतका आधारमा पदको समानुपातिक वितरण हुनेछ ।
Trade Union Election