बजेटमाथी छलफल जारी सता पक्ष र प्रतिपक्षबिच दोहरी घम्साघम्सी
काठमाडौँ, १९ जेठ सरकारले प्रस्तुत गरेको आव २०७३ र ७४ को बजेटमाथिको छलफल व्यवस्थापिका–संसद जारी छ । बजेटमाथिको छलफलमा प्रतिपक्ष दलले कार्यान्वयन हुन नसक्ने ठूलो आकारको बजेट ल्याएको भन्दै आलोचना गरेको छ भने सत्तापक्षले त्यसको बचाउ गरिरहेको छ ।
नेपाली काँग्रेसका सांसद डा। मीनेन्द्र रिजालले बजेट ल्याए मात्र हुन्छ कार्यान्वयन गर्नु पर्दैन भन्ने मानसिकताबाट बजेट आएको भनी आलोचना गरे । बजेट सुन्दा राम्रो लागेपनि तर त्यसको खर्च कसरी जुटाउने भन्नेमा स्पष्टता नदेखिएको उनको भनाइ छ ।
सांसद रत्ना शेरचनले बजेट महात्वकांक्षा, उत्पादनमुखी भन्दा वितरण मुखी, दलीय स्वार्थबाट बढी प्रेरित भएको र युवा उद्यमीलाई समेट्न नसकेको भनी आलोचना गरिन् ।नेकपा संयुक्तका सांसद जयदेव जोशीले बजेट महात्वकांक्षी भएको र कार्यान्वयन गर्न चुनौती रहेको बताए । उनले बजेटमा कार्यान्वयन हुन नसक्ने हावादारी कार्यक्रम रहेको जिकिर गरे ।
सांसद श्यामकुमार श्रेष्ठले बजेटमा साधारण खर्च राजस्वबाट धान्न नसकिने अवस्था रहेको बताउँदै बामपन्थी नेतृत्वको सरकार भए पनि बजेटले विदेशी सहायता निर्भरता बढाएको गुनासो गरे।नेकपा मालेका सांसद कसलादेवी महराले यो बजेट जनताको बजेट हो भन्दै जनताको बजेट महत्वाकांक्षा नै हुन्छ र हुनुपर्ने बताए । उनले बजेट मधेसमैत्री भएको दाबी गरे ।
नेपाल जागरण पार्टीका सांसद लोकमणि ढकालले बजेट सकारात्मक र धेरै मेहनत गरेर ल्याएको अनुभूति भएको भन्दै स्वागत गरे। यो कुनै दल र समुदायको लागि नभइ सबैका लागि भएकाले सबै मिलेर कार्यान्वयनमा लाग्नुपर्ने सुझाव दिए । सांसद प्रतिक्षा मुखिया तिवारीले बजेटको समर्थन गर्दै द्वन्द्वपीडितलाई दिने राहतका कार्यक्रम अपर्याप्त भएको गुनासो गरे ।रासस
baget mathiko chalphal samsad