प्रत्येक प्रदेशमा सुविधासम्पन्न रङ्गशाला : युवा तथा खेलकुदमन्त्री मण्डल

जेठ २० । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले सरकारले प्रत्येक प्रदेशमा सुविधासम्पन्न रङ्गशाला र क्रिकेट मैदान निर्माण गर्ने बताएका छन् ।
कतारस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग बुधबार भएको भेटमा उनले खेलकुदको विकास र स्तरवृद्धि गर्न आफू तत्पर रहेको बताए । खेलाडीलाई प्रशिक्षण, तलब र भत्ता वृद्धि गरिने जानकारी दिँदै मन्त्री मण्डलले खेलाडीको स्वास्थ्य बीमासमेत गरिने बताए ।
सो अवसरमा मन्त्री मण्डलले कतारका लागि नेपालका कावा राजदूत मणिरत्न शर्मा र विभिन्न सङ्घ, सङ्गठनका प्रतिनिधिसँग कतारमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका थिए । रासस