विदेश

लिबियाली सामुद्रिक तटमा एक सय चार आप्रवासी मृत भेटिए

लिबियाली सामुद्रिक तटमा एक सय चार आप्रवासी मृत भेटिए
जेठ - २१, लिबियाली सामुद्रिक तटीय इलाकामा अवस्थित ज्वारा सहर नजिकैबाट १०४ जना आप्रवासी शरणार्थीको मृत शरीर भेटिएको लिबियाली नौसेनाले शुक्रबार जनाएको छ । a1508e72-4afb-4ed9-9e04-ae23035f6e9f सामुद्रिक तटमा मृत शरीर यत्रतत्र छरिएर आएपछि तिनीहरुलाई सङ्कलन गरी व्यवस्थापन गरिएको लिबियाली नौसेनाका प्रवक्ता कोलोनेल अयोब आओसेमले बताए । सामुद्रिक तटमा बिहीबार बेलुकीदेखि मृत शरीर देखिन थालेका र बिहानसम्म त्यस्ता शवको सङ्ख्या १०४ पुगेका छन् । सामान्यत एउटा डुङ्गाले ११५-१२५ मानिस बोक्ने हुँदा मृत शरीरहरु एक डुङ्गा दुर्घटनापछि त्यहाँ आइपुगेको हुनसक्ने अनुमान गरिएकाे छ । यसबाट मृतकको सङ्ख्या यो भन्दा बढी पुग्नसक्ने देखिन्छ, प्रवक्ता आओसेमले बताए । आओसेमका अनुसार पश्चिमी लिबियाबाट छुटेका आप्रवासी चढेका डुङ्गाहरु साबराथा र ज्वारा हुँदै इटालीका लागि जाने गर्छन् । मृत शरीरबाट प्राप्त सङ्केतबाट मृतकहरु प्राय अफ्रिकी वा मोरक्कोबाट आएका अरबी नागरिक हुनसक्ने बताइएको छ । लिबियाबाट इटालीका लागि करिब ३०० किलोमिटरको दूरीमा आप्रवासीका रुपमा युरोप तथा अमेरिकी मुलुक हिँडेका मानिस समुद्रियात्राका लागि असुरक्षित मानिने साना डुङ्गाको सहारामा पुग्ने गरेका अध्ययनहरुले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्थाले गएको मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१६ को जनवरी यता दुई लाख चार हजार आप्रवासी भूमध्यसागरिय क्षेत्र हुँदै युरोप छिरेका छन् । उक्त खतरानाक यात्राका क्रममा करिब दुई हजार पाँच सय आप्रवासी शरणार्थीले यस वर्षमात्रै ज्यान गुमाएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । सिरिया, अफगानिस्तान, कतिपय खाडी मुलुक र केही अफ्रिकी देशबाट मानिस द्वन्द्व र गरिबीबाट बच्न लिबिया र इटालीको बीचमा पर्ने सामुद्रिक इलाकामा डुङ्गाको यात्रा गर्दै युरोप छिर्ने क्रममा ज्यान गुमाउने गरेको राष्ट्रसङ्घले बताएको छ । रासस

विशेष