News

यस्तो बन्दैछ काठमाडौं

यस्तो बन्दैछ काठमाडौं

काठमाडौं जेठ २२ ।  मेट्रो रेल, बाहिरी चक्रपथ र सूर्यविनायक–धुलिखेल सडकको डिपिआर तयार भइसकेको छ भने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अध्ययन भइसकेको छ । प्रक्षेपित योजना कार्यान्वयन भएमा अबको १० वर्षपछि काठमाडौं उपत्यकाले आफ्नो रूप बदल्नेछ । सडक चौडा हुनेछन् । मेट्रो रेल गुड्नेछ । ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ । पुरातात्तिक महत्वका धरोहरले रूप फेर्नेछन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले सबै योजनाको सूक्ष्म अध्ययन सुरु गरिसकेको छ । अध्ययन सकिएलगत्तै कार्यान्वयनका लागि डिटेल प्रोजेक्ट रिपोर्ट डिपिआर तयार हुनेछ ।

रिपोर्टका आधारमा योजनाले गति लिनेछ । सबै योजना पूरा हुन कम्तीमा १० वर्ष लाग्नेछ । तीन वर्षभित्र बागमतीमा माछा उफ्रनेछन, पानीहाँस डुबुल्की मार्नेछन् । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीको उद्गम बिन्दुमा मानवनिर्मित दुई ठूला कृत्रिम ताल बनाउनेछ । प्राधिकरण अबको १० वर्ष्भित्र काठमाडौं उपत्यकामा अत्याधुनिक स्याटलाइट सिटी निर्माणमा जुटेको छ ।

पहिलो चरणमा उपत्यकामा तीनवटा स्याटलाइट सिटी निर्माण हुनेछन् । पहिलो स्याटलाइट सिटी एक लाख रोपनी क्षेत्रफल, दोस्रो ३० हजार रोपनी र तेस्रो ४० हजार रोपनी क्षेत्रफल भएको जग्गामा निर्माण हुनेछ । त्यस्तै काठमाडौं उपत्यकाका घरघरमा १६ महिनाभित्रै मेलम्चीको खानेपानी पुग्नेछ । मेलम्ची खानेपानी विकास समितिका अनुसार ०७४ मा पानी उपत्यका भित्रिनेछ । उपत्यकामा बन्ने तीनवटै स्याटलाइट सिटीमा मास र्यापिड ट्रान्सफर सिस्टम निर्माण हुनेछ । प्रत्येक सडक व्यवस्थित हुनेछन् । सडकमा अत्याधुनिक तथा सुविधासम्पन्न यातायातका साधन मात्र सञ्चालन हुनेछन् ।

अध्ययनअनुसार उपत्यकाभित्र पाँच स्थानमा ‘मेट्रो रेल’को लेन निर्माण हुनेछ । पहिलो, दोस्रो र तेस्रो लेनमा गुड्ने रेलका लागि लिक ‘फ्लाई ओभर’मा हुनेछ । चौथो र पाँचौँ लाइमा गुड्ने रेलका लागि भने भूमिगत लिक निर्माण गरिनेछ । नयाँ पत्रिका

Kathmandu Metro Kathmandu Nepal

विशेष