के हो पोलिग्राफ कसरी ठम्याउछ यसले अपराधी
काठमाडौं, जेठ २२ । मनीषा घर्तीमगरको रहस्यमय मृत्युमा संलग्नताको शंकामा प्रहरी हिरासतमा रहेका रुद्रनारायण चौधरी पोलिग्राफ परीक्षणमा उत्तीर्ण भएपछि अनुसन्धानमा संलग्न रूपन्देही प्रहरी रनभुल्लमा परेको छ । जेठ १३ मा बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी मगरको हत्यामा संलग्न रहेको शंकामा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो। उनले झूट नबोलेको पोलिग्राफले देखाएपछि रूपन्देही प्रहरी घटनालाई जस्ताको तस्तै मिसिलमा उतारेर अदालतमा बुझाउने निष्कर्षमा पुगेको छ ।
घटनामा संलग्न रहेरनरहेकोबारे आरोपीको बयान सत्य हो या झूट पहिल्याउन प्रहरीले आधुनिक प्रविधिमार्फत गरेको पोलिग्राफ परीक्षणमा चौधरी दोषी नदेखिएपछि अनुसन्धानमा जुटेको प्रहरी घटनाको अवस्था अदालतमा बुझाउने तयारीमा जुटेको हो। पोस्टमार्टममा मृत्युको कारण झुन्डिनु उल्लेख थियो । मनीषाको झुन्डिएको शरीर निकाल्नु, हाइवेको कल्भर्टमुनि सल लुकाउनु, प्रहरीलाई जानकारी नदिनु लगायतका चौधरीका गतिविधि र उनीविरुद्ध परेको जाहेरीका आधारमा पक्राउ गरी अनुसन्धान भइरहेको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतले बताए ।‘प्रहरीले सार्वजनिक गरेको विवरण नै अन्तिम होइन,’ एसएसपी बस्नेतले भने, ‘साधनस्रोत र प्रविधिको उपयोग गरी घटनालाई जस्ताको तस्तै संकलन गरी अदालतमा पेस गरौं भन्ने उद्देश्य हो, त्यहीअनुसार अनुसन्धान अघि बढिरहेको छ ।’
नेपाल प्रहरीले अपराध अनुसन्धानमा तीन वर्षदेखि प्रयोग गरिरहेको आधुनिक प्रविधि पोलिग्राफ परीक्षणको नतिजा विश्वसनीय हुन्न त ? अपराध अनुसन्धान विभाग, केन्द्रीय पोलिग्राफ शाखाका प्रमुख गणेश श्रेष्ठ ९२ प्रतिशत नतिजा सत्यनिकट हुने बताउँछन् । बाँकी ८ प्रतिशत परीक्षण दिनेभन्दा परीक्षण लिने अवस्थाको वातावरण र लिने व्यक्तिको प्रश्नोत्तर शैलीले प्रभाव पार्ने उनको भनाइ छ । ‘पोलिग्राफ व्यक्तिले बोलेको कुराको विश्वसनीयता परीक्षण गर्ने प्रविधि हो,’ तीन वर्षको बीचमा सय जनाको पोलिग्राफ परीक्षण गरिसकेका उनले भने, ‘आफैंले गरेको परीक्षण तथा त्यसको नतिजा र अन्तर्रा्ष्ट्रिय अभ्यास तथा मान्यताले प्राविधिक र मानवीय त्रुटि बाहेकको अवस्थामा पोलिग्राफको नतिजा गलत हुन्न भन्नेमा ढुक्क छु ।’ श्रेष्ठका अनुसार आरोपीको शरीरको चार प्रकृतिको आन्तरिक परिवर्तनका आधारमा पोलिग्राफ परीक्षणको नतिजा निस्कन्छ ।
आरोपीको श्वासप्रश्वास, मुटुको चालको गति, प्रश्नको समयमा आरोपीको रगतको प्लेटिस्योग्राफमा हुने परिवर्तन र उसको छालाको तरंग इलेक्ट्रो डरमल र प्रश्नको उत्तर दिँदा उसले झूट बोलेको छ या छैन भन्ने खुट्याउने काउन्टर मेजर सेन्सरको आधारमा नतिजा निस्कन्छ । पोलिग्राफ परीक्षणबाट दोषी भनिएकाहरू निर्दोष प्रमाणित भएका र निर्दोष ठानिएका दोषी देखिएका दुई घटना उनले सुनाए ।
काान्तिपुरबाट
Aparad
Nepal Police