अमर अम्बर !
[caption id="attachment_4089" align="aligncenter" width="600"] फोटो: keyword-suggestions.com[/caption]
साहित्यिक क्षेत्रमा सदा अमर रहने नाम हो अम्बर गुरुङ । बरिष्ठ संगीतकार अम्बर गुरुङ वि.सं. १९९४ मा जन्मिएका हुन । बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट भारतको दार्जिलिङ्गको लालढिकीमा उनको जन्म भएको थियो । अम्बर गुरुङको पुख्र्याैली घर गोरखा जिल्लाको रिसिङ हो । उनका हजुरबुबा देवराज गुरुङजस्तै उजीरसिंह गुरुङ सेनामा जागिर थिए ।
गुरुङको गायन तथा संगीत यात्रा वि.सं. २०१६ मा शुरु भएको हो । उनको सांगीतिक यात्रा ‘हम अम्बर हुँ’ र ‘सम्हालेर राख’ बाट कलकत्तामा शुरु भएको थियो । सँगीतकार गुरुङले कोलकत्तामा पहिलोपटक सन् १९६१मा अगमसिंह गिरीले रचेका गीत रेकर्ड गरेका हुन ।
’नौ लाख तारा उदाए’ को क्यासेट एक हप्तामै पाँच सय प्रति बिक्री भएको थियो । त्यतिबेला यति बिक्री हुनु पनि ठूलो कुरा थियो । यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोले प्रतिबन्ध लगाएको थियो । भारतमा प्रतिबन्धित यो गीत नेपालीको मुटुमा भने सधैं बास गरिरहने छ ।
राजा महेन्द्रले यही गीत मन पराएर अम्बरलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाए । । उनी वि.सं. २०२५ सालमा पहिलोपटक नेपाल आए । वि.सं. २०२६ सालमा (दोस्रोपटक) नेपाल आएका बेला राजा महेन्द्रले एकेडेमीमा बस्ने प्रस्ताव दोहोर्याएपछि गुरुङ सदाका लागि नेपाल आए ।
उनले वि.सं. २०२६ सालमा संगीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरे । त्यसपछि संगीत प्रमुख, संगीत संयोजक र संगीत निर्देशक भएर वि.सं. २०५४ मा अवकाश पाएका थिए ।
उनले लक्ष्मीप्रसाद देवकोटाको गीतिनाटक कुन्जिनी, मुनामदनमा संगीतांकन गरेका थिए । सत्यमोहन जोशीका चार नाटकलगायत माधवप्रसाद घिमिरेको मालती मंगलेमा समेत संगीत दिएका उनले चलचित्र मनको बाँध, जीवनरेखा चलचित्रको पृष्ठसँगीत र पार्श्व सँगीत दिएका थिए ।
आदिकवि भानुभक्तको वृतचित्रमा पार्श्वसँगीत, स्वर दिएका थिए । नेपालको वर्तमान राष्ट्रगान सयौं थुंगा फूलका हामीलाई अम्बर गुरुङले सँगीत दिएका हुन् । संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति गुरुङको स्वास्थ्य पछिल्लो केही बर्षयता बिग्रिएको थियो ।
कृतिहरू
अक्षरका आवाजहरू (गीतिसंग्रह, २०६० प्रकाशकः तलेजु धनकुमारी कोष)
कहाँ गए ती दिनहरू (संस्मरण, निबन्ध, २०६३ रत्न पुस्तक भण्डार, सम्पादकः देवेन्द्र भट्टराइ)
कहिले लहर कहिले तरंग (गीति क्यासेट)
सम्हालेर राख (संयुक्त गीतिसँग्रह, २०६९)
पुरस्कार
सन् १९९४ मा गिरी पुरस्कार गुठी दार्जिलीङबाट रु. १ लाख नगद प्रमाणपत्र
२०२८ सालमा गोरखा दक्षिणबाहु चौथो
वि.सं. २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार,
२०४७ सालमा छिन्नलता गीत पुरस्कार
वि.सं. २०५४ सालको जगदम्बाश्री पुरस्कार
नेपाल प्रहरीको तर्फबाट २०७३ जेठमा नेपाली सांगीतिक आकाशका उज्जवल नक्षत्र संगीतकार अम्मर गुरुङलाई नगद ५ लाखसहित सम्मानपत्रद्धारा सम्मान गरेको थियो ।
१ जनवरी २०१४ हङकङमा हिमालयन् टोन्स म्युजिक एकेडेमीले आयोजना गरेको “अम्बर गुरुङ रात्री“ मा आयोजकका तर्फबाट उनलाई “महासंगीतकार“ को घोषणा गरिएको थियो ।
पछिल्लो स्वास्थ्य अबस्था
पार्किन्सन्स र मधुमेहबाट पीडित गुरुङ लामो समय भारतको मेदान्त अस्पतालमा उपचार गरी फर्किएका थिए । उनको अहिले काठमाडौंको ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । मृत्युसंग जुंधिरहेका अम्बरको शिघ्र स्वस्थ्यलाभकाे कामना गर्दछौं । नेपाल अाज परिवार ।
ambar gurung
National Anthem
Nepali Musician
Nepali Singer